बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
राधेश्याम अधिकारी
गएको साता आÏना कार्यकर्तामाझ माओवादी अध्यक्ष पुष्पकमल दाहालले भारत बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन चाहन्छ भन्ने आशयको भाषण दिए । जसको सम्पादित अंश छापा र विद्युतीय माध्यमबाट आमनेपालीले दाहालकै भाषा र स्वरमा सुन्ने अवसर पाए । दाहालको यस टेपले शक्तिखोरमा दिएको भाषणलाई स्मरण गरायो । किनभने, अघिल्लो भाषणले राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा तरंग ल्याएको थियो भने यसपटक स्वयं माओवादी दलमा, ठूलो राजनीतिक दल भएको नाताले राष्ट्रिय राजनीतिमा र भारतलाई मुछेर बोलेकाले नयाँदिल्लीसम्म यसका प्रभाव र असरहरू देखापरे ।
त्यसलगत्तै भएको प्रेस भेटघाटमा दाहालले भारतको एक तप्का आफूलाई प्रधानमन्त्री बनाउन र अर्को तप्का बाबुरामलाई प्रधानमन्त्री देख्न चाहेको संशोधित धारणा राखे । साथै, अब माओवादी नेतृत्वमा सरकार बन्ने भएमा आफैंले त्यसको नेतृत्व गर्ने पनि बताए । बाबुरामले त्यसपछि दिएका अन्तर्वार्ताहरूमा आÏना अध्यक्षले पछिल्लोपटक दिएको अभिव्यक्तिले सबै कुरा प्रस्ट्याएको भने पनि उनको चित्त कुँडिएको छ भन्ने बुझ्न थप प्रमाण खोज्नुपर्दैन ।
उठ्न लागेको कुनै पनि व्यक्तिको खुट्टा तान्ने हाम्रो -कु) संस्कार नै बनिसकेको छ भन्दा हुन्छ । झन् राजनीतिमा लाग्नेहरूविरुद्ध फलानाको एजेन्ट नभनिएको सुन्न विरलै पाइने गर्छ । अतीतका मूर्धन्य बीपी कोइराला, पुष्पलालजस्ता र हालकै नेताहरू पनि यो विभूषण नपाउनेमा कमै छन् । आफूसँग असहमत हुनेवित्तिकै अर्कोलाई एजेन्ट देखाउने रोग नै लागेको छ हामीलाई, जसको पछिल्लो सिकार बाबुराम हुन पुगे ।
दाहालको भाषण सुनेपछि यस पंक्तिकारका मनमा विभिन्न खाले तरंगहरू उठे । बाबुरामले रोजेको आस्था र मैले रोजेको आस्थामा ठूलो अन्तर छ । उनी साम्यवादमा विश्वास गर्छन् भने म उदार लोकतान्त्रिक परिपाटीमा । आस्थामा यत्रो अन्तर हुँदाहुँदै पनि जसरी म आÏनो देशभक्तिप्रति गर्व गर्छु, त्यसरी नै बाबुरामको देशभक्तिप्रति पनि सम्मान गर्छु । त्यसैले पुुष्टि गर्न नसकिने आरोप लगाएर गरिएका कसैको पनि चरित्रहत्याका प्रयत्नहरुको प्रतिवाद हुनुपर्छ । होइन भने सार्वजनिक जीवनमा लाग्ने जो कोही लाञ्छित हुनसक्छ र असल मानिसहरू त्यसबाट टाढिन पुग्नेछन् ।
विसं २०४६ को जनआन्दोलनका क्रममा बाबुरामसँग मेरो परिचय भएको हो । ७ फागुन ०४६ मा पहिलो जनआन्दोलन सुरू भयो । सुरुमै जनता तर्साउन गरिएको फायरिङ्मा केही व्यक्तिले सहादत प्राप्त गरे । तर, लास सद्गतका लागि दिनसमेत तत्कालीन सरकार डरायो । यसै कुरामा सरकारको ध्यान खिच्न भनेर देवेन्द्रराज पाण्डेको घरमा हामी १२-१४ जना भेला भएका थियौं, जसमध्य एक बाबुराम पनि थिए । त्यसपछि जनआन्दोलन सफल नहुँदासम्म यो टोली सक्रिय भइरह्यो, जुन कुरा आज इतिहास भइसकेको छ ।
प्रसंग त्यही जनआन्दोलन कै हो । एक दिन पाण्डेकै घरमा हामी सबै छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रयत्नमा थियौं । बाबुरामलाई पनि आÏनो मत जाहेर गर्न भनियो । उनले त्यतिबेला भनेको म आज पनि राम्ररी सम्झन्छु । भनेका थिए, \'\'तपाईंहरू जे गर्दै हुनुहुन्छ, त्यसमा मेरो सहमति छ । किनभने, आज निर्दलीय पञ्चायती व्यवस्थालाई Ïयाँक्नु छ । तर, यो व्यवस्था फालेर नयाँ आउने व्यवस्था -संसदीय) तपाईंहरुको गन्तव्य हो । मेरो बाटो त्यसपछि अलग हुनेछ । त्यसैले तपाईंहरूसँग मैले हिँड्ने बाटो केही समयसम्म एकै हुने भए पनि पछि फरक पर्नेछ । निर्णय तपाईंहरू गर्नुहोस्, अहिलेलाई मेरो साथ पाउनुहुनेछ ।\'\'
बाबुरामले त्यतिबेला जे बोले, त्यसै अनुसार गरेर देखाए । जस्तो-संयुक्त जनमोर्चामार्फत् चुनाव लडेर आÏना साथीहरूलाई संसद प्रवेशसमेत गराए तर संसद्लाई उपयोग गर्ने नीति लिएर । संसदीय व्यवस्था बाबुरामको अभीष्ट छँदै थिएन । त्यस व्यवस्थामार्फत् समाजलाई चाहेको परिवर्तन दिन सकिँदैन भन्ने मान्यतामा उनी अद्यापि अडिग छन् ।
त्यसपछि संयुक्त जनमोर्चा फुट्यो । निर्वाचन आयोगमा कुन समूहले मान्यता पाउने भनि छलफल भयो । संयोग भनौं, बाबुराम र पम्फा भुसालसहित मलाई पनि कानुन व्यवसायीको हैसियतमा बाबुरामको समूहले मान्यता पाउनुपर्छ भनी निर्वाचन आयोगमा बहस गर्ने अवसर जुर्यो । निर्वाचन आयोगले निरञ्जनगोविन्द वैद्य समूहलाई मान्यता दियो । तर, लगत्तै भएको निर्वाचनमा अघिल्लोपटक नौ जना सांसद जिताएको पार्टी -संसद्मा तेस्रो ठूलो दल)ले एउटा सिट पनि जित्न सकेन । निर्वाचन आयोगले दिएको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएर बाबुराम समूहकै पक्षलाई मान्यता त दियो तर त्यतिबेलासम्म समय घर्किसकेको थियो । बाुबराम भूमिगत भइसकेका थिए । त्यसपछि दोस्रो जनआन्दोलनलगत्तै पुष्पकमल र बाबुराम एकैपटक प्रधानमन्त्री निवास बालुवाटारको पहिलो पत्रकार सम्मेलनमा टेलिभिजनको पर्दामा देखा परे ।
गोरखाको साधारण परिवारमा जन्मेको एउटा व्यक्ति जो मेधावी छात्रको रुपमा खुड्किलैपिच्छे आफूलाई सक्षम प्रमाणित गर्दै अन्तत: राजनीतिमा आÏनो छुट्टै पहिचान बनाउन सफल भए । बाबुरामका अगाडि समाजमा सम्पन्न भएर बस्ने अवसरको कमी थिएन । विकल्प नभएर राजनीतिमा लाग्ने वा लहैलहैमा राजनीतिमा लाग्नेहरूको श्रेणीमा उनी पर्दैनन् । उनले लामो समय भारत अध्ययन गरे र स्वभाव अनुसार वाम विचार बोके । त्यही दौरानमा भारतमा आÏना दृष्टिकोण मिल्ने धेरै मित्रहरु बनाएका पनि होलान् । सायद यिनै उठबसले उनलाई भारतपरस्तको तक्मा भिर्नुपरेको पनि हुनसक्छ ।
आज ठूलो दलका ठूलो नेता हुन् बाबुराम । हुन त त्यो ठूलो दल बनाउनमा पक्कै पनि बाबुरामको भन्दा बढी योगदान दाहालको होला र त पत्याए त्यस दलका नेता-कार्यकर्ताले १८ वर्षसम्म एकछत्र नेताका रुपमा उनलाई । यो दलभित्रका कार्यकर्ता-नेताको विषयवस्तु हो, यसमा कसैको केही भन्नु छैन । र, आफूले स्वीकार गरेको नेताको मुखबाट आÏनो चरित्रमा दाग लाग्ने गरी लाञ्छना लगाएको कुरालाई बाबुरामले जसरी अनुभूत गरे, त्यो पनि उनमै छोडौं । तर, सार्वजनिक भएको दाहालको ताजा भाषणले सार्वजनिक रुपमै दुईवटा प्रश्न सोध्न प्रेरित गर्यो । पहिलो, के आÏनै सहयात्री -नेता-कार्यकर्ता जे भने पनि)को तेजोबध नगरी आÏनो पद सुरक्षित राख्न सकिँदैन ? दोस्रो, अनि के त्यसरी लाञ्छना लगाइसकेपछि कुम जोर्दै काम गरेर समान लक्ष्यमा पुग्न सकिएला ?
१० माघ २०६६, नेपाल साप्ताहिक
समाचार
अरुको आँखामा
अन्तवार्ता