१७ असार, काठमाण्डौ । नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय मिसन अनमिनका पूर्व प्रमुख इयान मार्टिन र अनमिन प्रमुख करिन ल्यानग्रेनले माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ ।
भट्टराई निवास शान्तिनगरमा आज दिउँसो भएको भेटमा मार्टिनले शान्ति प्रक्रिया बारे चासो व्यक्त गर्नुभएको थियो । भेटमा शान्ति प्रक्रिया, सेना समायोजन विशेष समिति तथा अनमिनको बारेमा उठाइएको प्रश्नबारे समीक्षा भएको थियो ।
भेटपछि माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले अनमिन र मार्टिनले सही भूमिका निर्वाह गरेकाले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको उल्लेख गर्दै केही दलहरुले दलगत स्वार्थका लागि अनमिनमाथि प्रश्न उठाएको बताउनुभयो ।
मार्टिनले आफ्नो नेपाल भ्रमण व्यक्तिगत मात्र भएको प्रतिक्रिया दिनुभयो । भेटमा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भिडियो टेप प्रकरण बारे पनि छलफल भएको थियो । भिडियो टेपलाई उचालेर अरु दलहरुले राजनीतिकरण गरेको उल्लेख गर्दै भट्टराईले त्यो सन्दर्भ मार्टिनलाई पहिले नै थाहा भएको बताउनुभयो ।
१२ बुँदे समझदारी हुनुभन्दा दुई महिना पहिले रोल्पाको चुनवाङ्मा भएको माओवादी बैठकपछि जनमुक्ति सेनाको संख्या बढाइएको हुनाले त्यो प्रसङ्गलाई अध्यक्षले टेपमा भनेको कुरालाई वङ्ग्याइएको भट्टराईले स्पष्ट पार्नुभयो ।
भेटमा हाल निस्क्रिय रहेको सेना समायोजन विशेष समितिको पुनर्गठन बारे पनि छलफल भएको थियो । यसअघि बिहान भट्टराईसँग अनमिन प्रमुख करिन ल्यानग्रेनले विशेष समिति गठनबारे विशेष चासो राख्नुभएको थियो ।
शान्ति सम्झौतामा तत्कालीन सात दल एउटा हिस्सा र माओवादी अर्को हिस्सा भएकाले विशेष समितिको नेतृत्व नपाए समितिमा आधा सदस्य आफूहरुका हुनुपर्ने माग गरेको छ । मार्टिनले नेपालको शान्ति प्रक्रियालाई शुरुदेखि सहयोग गर्नुका साथै नजिकबाट बुझ्नुभएको छ ।