काठमाडौं साउन २८(नागरिक)- एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भारतसँग पाचेश्वर लगायत कुनै पनि विषयमा सहमति/सम्झौता नगर्न प्रधानमन्त्री माधव कुमार नेपाललाई आग्रह गरेका छन्। कुनै पनि विषयमा मुलुकभित्र राष्ट्रिय सहमति नजुटेकाले सहमति/सम्झौता गर्न नहुने जिकिर भट्टराईले गरे।
राष्ट्रिय सहमतिबिना गरिएका सहमति विवादित हुनेभएकाले त्यसो नगर्न भट्टराईले आग्रह गरे। 'महाकाली सीमामा पर्ने भएकाले आधा-आधा अधिकार हुनुपर्छ भन्ने सैद्धान्तिक सहमति छ पञ्चेश्वरमा। हामीले पाचेश्वरमा सहमति नगर्ने भनेका छैनौं। तर त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ' भट्टराईले नागरिकसित भने।
भ्रमण सामान्य भएको औंल्याउँदै भट्टराईले मुलुकमा राष्ट्रिय सहमति नजुटेकोबेला कुनै पनि सम्झौता विवादित हुने उनले बताए। सरकार नै असंबैधानिक ढंगबाट बनेकाले कुनै सहमति सम्झौता गर्नु सैद्धान्तिक रुपमै गलत हुने भट्टराईले बताए।
'सामान्य भ्रमणका रुपमा लिए हुन्छ । अहिलेसम्म कुनै विषयमा राष्ट्रिय सहिमति जुटन नसकेको अवस्थामा कुनै सहमति गर्नुको औचित्य हुँदैन । भए पनि त्यो विवादित हन्छ' उनले भने- 'मुलुक ट्रयाकभन्दा बाहिर गएको छ। यस्तो अवस्थामा छिमेकीसँग सहमति/सम्झौता गर्नुको कुनै औचित्य छैन।'
नागरिक दैनिक, २९ श्रावण २०६६