अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अन्तर्वार्ता
 
अबको युद्ध विनासकारी हुन्छ
डा. बाबुराम भट्टराई
 

० सिंहदरबार घेराउका वेला डिएसपी दिलीप चौधरीकै टोलीले अमिक शेरचन र कृष्णबहादुर महरालगायतका नेतामाथि लाठी प्रहार गरेको भन्दै उनीमाथि आक्रमण गरेर तपाइहरूले पैँचो तिर्नुभएको हो ?

-होइन । हामी त्यस्तोखालको प्रतिशोधको भावना लिँदैनौँ । हामी जनयुद्ध लडेर आएको हुनाले व्यक्तिगत रूपमा हाम्रो कसैसित पनि प्रतिशोधको भावना छैन । डिएसपी घाइते भएको जुन कुरा छ, दोहोरो हानाहानमा हाम्रा सभासद् यशोदा सुवेदी, भीमप्रसाद गौतमहरू पनि घाइते हुनुभएको छ । डिएसपी पनि घाइते भए, यो दुखद् कुरा हो ।

० उनीमाथि नियोजित आक्रमण गरिएको हो रे त ?

त्यो हुनै सक्दैन । हामीले सुनेअनुसार त प्रहरीले हानेको अश्रुग्यासको सेलले पहिले उनलाई लागेको हो र त्यसपछि ढलिसकेपछि दोहोरो ढुंगा हानाहानमा उनी घाइते भएका हुन् ।

० तपाईंहरू आन्दोलन शान्तिपूर्ण गर्छौँ भन्दै हुनुहुन्थ्यो, तर बानेश्वरको झडप एक्कासि कसरी भयो ?

- हाम्रो सात महिनाअघिदेखिको आन्दोलन हेर्नुभयो भने पनि पुष्टि हुन्छ । अहिलेको तीन दिनको हडताल पनि शान्तिपूर्ण नै सम्पन्न गर्ने हाम्रो योजना थियो र आमरूपमा शान्तिपूर्णरूपमै सम्पन्न भयो । तर, बानेश्वरजस्ता एकाध ठाउँमा सरकारले उत्तेजित पार्ने काम गर्‍यो । यसबाट अहिलेको 'कठपुतली' सरकारले यो आन्दोलनलाई अर्कै मोड दिने र यो प्रतिक्रान्तिलाई जायज ठहर्‍याउने बाहना खोजिरहेको हो कि बन्ने हामीलाई लागेको छ ।

० उन्नाइसदिने जनआन्दोलनमा पनि प्रहरीले लाठीचार्ज र दमन गर्दथ्यो, तर त्यसवेला प्रदर्शनकारीसित घाइते हुनु वा भाग्नुको कुनै विकल्प थिएन । तर, माओवादी कार्यकर्ता त प्रहरीले जस्तै लाठी बोकेरै निस्किए नि ? तपाइहरूको शान्तिपूर्ण आन्दोलन पहिलेको जनआन्दोलनभन्दा अलि फरक ढंगको हो ?

- होइन, अहिले पनि हामी शान्तिपूर्ण नै छौँ ।

० तर, लठ्ठी नि ?

त्यो त सामान्य रूपमा मान्छेले प्रदर्शन गर्ने क्रममा बोक्नुबाहेक आक्रमणका लागि बोकेको होइन । सबै ठाउँमा लाठी लिएर निस्किएका पनि थिएनन्, एकाध ठाउँमा मान्छेहरू त्यसरी हिँडे होलान्, त्यो सामान्य प्रचलन हो । एकाध ठाउँमा एकाध मान्छेले बोकेको लठ्ठीलाई त्यसरी आमरूपमा प्रचार गर्नु सही होइन ।

० सरकारमा हुँदा त तपाईंहरू नै बन्द र हडतालको विरोध गर्नुहुन्थ्यो, अहिले किन आफैँले बन्द गराउनुभा'को ?

युद्ध संघर्ष र बन्द-हडताल भनेको जायज र नाजायज दुई किसिमका हुन्छन् । जायज कुराका लागि वा न्यायपूर्ण कुराका लागि तपाइले युद्ध, संघर्ष, विद्रोह वा बन्द-हडताल गर्नुहुन्छ भने त्यो सही हुन्छ, तर अन्यायपूर्ण कुराका निम्ति तपाईं त्यसो गर्नुहुन्छ भने त्यो गलत हुन्छ । बन्द-हडताल भन्ने कुरा केका निम्ति तपाईं गर्दै हुनुहुन्छ ? देश र जनताको निम्ति, अग्रगमनको निम्ति, लोकतन्त्रको निम्ति, शान्तिको निम्ति गर्नुहुन्छ भने त्यो जायज हुन्छ । यसलाई निरपेक्ष ढंगबाट हेर्न मिल्दैन ।

० न्यायपूर्ण भनिए पनि जनतालाई त बन्द-हडतालले कष्ट पुग्छ नि ?

मुक्तिकामी शोषित उत्पीडित जनताको जीवन त त्यसै पनि कष्टकर छ । भूमिहीन, खान नपाएर सडकमा लडिराखेकाहरूलाई अहिले कहाँ छ भन्नोस् त ? हामीले गरेको आन्दोलनले भोलि उनीहरूको सुखद जीवनको ढोका पो खुल्छ त । त्यसैले यस्तो आन्दोलन उत्पीडितहरूका लागि सुखद छ भने खाइपाई आएकाहरूका लागि मात्रै कष्टकर छ ।

० तीनदिने हडताल त गर्नुभो, तर यसबाट पनि सरकारले तपाइहरूको मागलाई सम्बोधन गरेन भनेपछि अब के गर्नुहुन्छ ?

इतिहासमा अक्सर निरंकुश शासक, प्रतिगमनकारी जनताको आवाजबाट सजिलै ढल्दैनन् र अन्त्यसम्म बल प्रयोग गरेर कुर्सीमा टाँसिने प्रयत्न गर्छन् । तीसवर्षे पञ्चायतकाल पनि हामीलाई थाहा छ, त्यसपछिको ज्ञानेन्द्रको शासन पनि हामीलाई थाहा छ । र, त्यसैको उत्तराधिकारीका रूपमा अहिलेका शासकहरूले पनि व्यवहार गरिराखेका छन् । तर अन्ततः यिनीहरूलाई पनि निर्णायक आन्दोलनमा उत्रिएर नै बढार्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ ।

० 'निर्णायक आन्दोलन' भन्नाले शान्तिपूर्ण नै हो कि अर्को युद्धमा जानुपर्ने पनि हुन सक्छ भन्न खोज्नुभएको हो ?

हामी विल्कुल शान्तिपूर्ण ढंगले अगाडि बढ्न चाहन्छौँ । लाखौँ-करोडौं जनताको जनसागर उल्टिसकेपछि संसारको कुनै पनि ताकतले थेग्न सक्छ भन्ने हामीलाई लाग्दैन ।

० तपाईंहरूले गर्ने अबको आन्दोलन कस्तो होला ? अझै लामो हडताल पो गर्दै हुनुहुन्छ कि ?

संघर्षको रूप त अवस्थाअनुसार हामीले सोच्ने कुरा हुन्छ । तर, अहिले जुन नागरिक सर्बोच्चताजस्तो अहं मुद्दा उठाएर हामीले आन्दोलन गरिराखेका छौँ, यसलाई सम्बोधन गर्नुको सट्टा सरकार जुन दमनमा उत्रिएको छ, र कुनै पनि हालतमा कुर्सीमा टाँसिने धृष्टता गरिरहेको छ, यस्तै रबैया रह्यो भने जनता अझै व्यापक ढंगले आन्दोलनमा उत्रनुको विकल्प रहँदैन ।

० सरकार कडा रूपमा प्रस्तुत हुने रे नि त अब ?

उनीहरू कडारूपमा प्रस्तुत भएकै त छन् । निहत्था सुकुम्बासीमाथि डुडेझारीमा गोली चलाएर ६ जनाको हत्या गर्नु, पचासौँ जनालाई घाइते बनाउनु के यो सहज प्रस्तुति हो ? यो सरकारमा बस्ने मान्छे, खासगरी अहिलेका गृहमन्त्री र केही मन्त्री असाध्यै मण्डले र फासिस्ट ढंगले प्रस्तुत भइराखेका छन् । यो हेर्दाखेरि यिनीहरू देशमा द्वन्द्व चर्काउने र देशलाई फेरि युद्धतिर लैजाने दिशामा उद्यत्त छन् भन्ने हामीलाई लागेको छ ।

० शीर्ष नेतावीच भेटघाट भइराखेको छ । दलहरूबीच वार्ता पनि भइराखेको छ, तर किन सहमति हुन सकिरहेको छैन ? हलो केमा अड्किएको छ ?

राष्ट्रपतिको कदमको जगमै यो सरकार बनेको हो । यो सरकार त्यसैमा टाँसिइरहन चाहन्छ । अहिले अड्केको गाँठी कुरै यहीँनेर हो । राष्ट्रपतिको कदम ठीक कि बेठीक भन्ने नै अहिलेको मुख्य मुद्दा हो । र, यो फिर्ता नलिएसम्म नागरिक सर्वोच्चता बहाल हुँदैन भन्ने हाम्रो अडान हो ।

० साझा संकल्प-प्रस्तावका बारेमा पनि पटक-पटक छलफल भएर ड्राफ्ट पनि बनिसकेको होइन र ?

हामीले त हाम्रो संकल्प प्रस्तावमा छलफल गर्न देऊ भन्यौँ, उनीहरूले दिएनन् । साझा प्रस्ताव बनाऔँ न त भन्यौँ, त्यसमा पनि उनीहरूले राष्ट्रपतिको कदमको 'र' पनि उच्चारण हुन सक्दैन भन्ने अडान लिइराखेका छन् । यसले गर्दा साझा प्रस्ताव पनि आउन सकेन । राष्ट्रपति आफैँले वक्तव्य दिएर यसलाई सच्याऊन् भनेर हामीले आग्रह गर्‍यौँ, यो पनि हुन सक्दैन भनेर उनीहरूले अडान लिइराखेका छन् । यसको अर्थ के हो भने उनीहरू कुनै पनि निकास चाहँदैनन् । हलो अड्काएर गोरु चुट्ने भनेजस्तो यसलाई निहुँ बनाएर असहज परिस्थिति सिर्जना गर्ने, संविधानसभा विघटन गर्ने र देशलाई फेरि सैनिक शासनतिर लैजाने मुख्य अभ्यास अहिले भइराखेको छ । र, यसैका विरुद्ध हाम्रो आन्दोलन केन्दि्रत छ ।

० शीर्ष नेताहरूको पछिल्लो भेटघाटले सहमतिलाई नजिक ल्याउने सम्भावनालाई कत्तिको देखाएको छ ?

कुनै सम्भावना देखापरिराखेको छैन । भेटघाट त राजनीतिमा भइराख्छ, युद्धको वेलामा पनि यस्तो भेटघाट र वार्ता हुने गर्थ्यो । तर, राजनीतिक निकास निस्कने ढंगले अहिले कुनै सार्थक कुरा भएको छैन । र, तत्काल त्यस्तो सम्भावना पनि हामीले देखिराखेका छैनौँ ।

० प्रतिशतमा भन्दा अब मुलुकमा सहमतिको सम्भावना कति छ ?

सहमतिबाटै निकास खोज्नु नै अहिलेको देशको आवश्यकता हो । यसैका निम्ति सात महिनासम्म हामीले अति संयमित ढंगले वार्ता र सहमतिका कुरा गर्दै आयौँ । तर, सरकारमा बस्ने मान्छे अत्यन्तै गैरजिम्मेवार ढंगले प्रस्तुत भइराखेका छन् । उनीहरूको यो रबैया हेर्दा सहजै निकास निस्कन्छजस्तो हामीलाई लाग्दैन ।

० प्रधानमन्त्री माधव नेपालले त कोपनहेगन जानुपूर्व र र्फकेपछि पनि सहमतिबाटै अघि बढौँ भनिराखेको सुनिन्छ । किन सहमति हुन सक्दैन ?

यो सरकार अन्तैबाट परिचालित छ र त्यताको आदेश नआएसम्म यसले सिन्को पनि भाँच्न सक्दैन भनेर त हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । कठपुतली भन्ने शब्द हामीले त्यसै रहरले भनेकै होइनौँ । राष्ट्रपतिको कदम देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यका साथ चालिएको कदम हो । जुन गाडी उल्टो दिशातिर दौडिराखेको छ, त्यो गाडीमा बसेर त्यसलाई अर्को दिशातिर लैजान्छु भन्नुको कुनै अर्थ छैन । हिम्मत छ भने त्यो गाडीबाट ओर्लने आँट माधव नेपालले अहिल्यै गर्नुपर्‍यो । अर्काले प्रतिगमनतर्फ चलाएको गाडीमा बसेर म अग्रगमनतिर जाँदै छु भन्ने गफ हाँक्नुको कुनै तुक छैन ।

० सरकार त तपाईंहरूसित गल्ने पक्षमै देखिँदैन । बरु तपाइहरूलाई श्रीलंकाको लिट्टे बनाउने वा इन्डोनेसियामा जस्तो दमन गर्ने योजना पनि बन्न सक्छ भन्ने सुनिन्छ । यस्तो भएमा तपाइहरूको स्थिति के होला ?

- कसैले चाहेर यस्तो हुने थियो भने त जनयुद्धकालमा हामीलाई सबै सिध्याउन खोजिएकै थियो । त्यतिवेला त राजासमेत यिनीहरूका साथमा थिए, अहिले त राजा छैनन् । यिनीहरूले तिनै पराजित शक्ति र वैदेशिक शक्तिको आडमा त्यस्तो दुस्वप्न देख्छन् भने लिट्टे हामी होइन, उनीहरू हुन्छन् ।

० विदेशी सेनासित मिलेर इन्डोनेसियामा जस्तो गरियो भने ?

त्यस्तो मूर्खता नगरून् भनेर हामी चेतावनी दिन चाहन्छौँ । अहिलेको विश्व १९६० को विश्व होइन, एक्काइसौँ शताब्दीको विश्व हो । अहिले त्यसरी करोडौँ जनताको कत्लेआम गरेर इन्डोनेसिया बनाउने परिस्थिति विद्यमान छैन । फेरि, हामी माओवादी भनेको नयाँ ढंगको एक्काइसौँ शताब्दीको माक्र्सवादको अभ्यास गर्ने बहुत सिर्जनशील र नयाँ ढंगका माक्र्सवादी हौँ । त्यसैले हामी जनतामा आधारित भएर प्रतिरोध गर्छौं र हामीलाई त्यो ढंगले परास्त गर्न सम्भव देख्दैनौँ ।

० यतिवेला तपाइहरू अप्ठ्यारोमा हुनुहुन्छ, बलियो अन्तर्राष्ट्रिय समर्थनचाहिँ सत्तापक्षमै छ, होइन र ? माओवादी एक्लिँदै गएको छ भनेर तपाईंहरूका विपक्षी निकै उत्साहित देखिन्छन् नि ?

प्रतिक्रियावादीलाई अन्तर्राष्ट्रिय समर्थन हुन्छ नि त । हिजो राजालाई पनि अन्तर्राष्ट्रिय समर्थन थियो । तीसवर्षे पञ्चायतलाई पनि अन्तर्राष्ट्रिय समर्थन थियो । पछिल्लो कालमा ज्ञानेन्द्रलाई पनि अन्तर्राष्ट्रिय समर्थन नभएको भए उनले दुस्साहस गर्दैन थिए । तर, जनताको सागर उल्टेर आइसकेपछि अन्तर्राष्ट्रिय शक्तिले पनि आफ्नो स्वार्थलाई केन्द्रमा राखेर त्यो समर्थन फिर्ता लिन्छन् । अहिले तत्काल त माओवादीको विरोधमा त्यस्तो देखिन सक्छ, तर जनताबाट पराजित र तिरस्कृत भएका शक्तिलाई साथ दिँदाखेरि के गति हुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले पनि बुझ्न आवश्यक छ । र उनीहरूले छिट्टै बुझ्छन् भन्ने हामीलाई लाग्छ ।

० अब तत्काल नेताहरूबीच वार्ता हुन्छ कि हुँदैन ?

हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने चाहन्छौँ । तर, एक हातले मात्रै ताली बज्दैन । अर्को पक्ष जसरी शान्तिप्रक्रियालाई भंग गर्न र संविधानसभालाई निष्त्रिmय पार्दै लगेर भंग गर्न उद्यत्त छ, त्यो पक्षचाहिँ वार्ताबाट समाधान खोज्नुभन्दा पनि कुनै राजनीतिक निकास नखोजेर देशलाई द्वन्द्वतिर लैजान प्रयत्नशील छ ।

० उसोभए अब मुलुक एकपटक फेरि मुठभेडतर्फ जानै लागेको हो त ?

आजका मितिसम्मको परिदृश्यलाई हेर्दाखेरि देश भयंकर मुठभेडको दिशातिर गइराखेको छ । यसलाई रोक्न चाहने हो भने हामी सबै देश र जनतालाई माया गर्ने शक्तिहरूले गम्भीर प्रयत्न गर्नुपर्छ । र, हाम्रो पार्टी र म व्यक्तिगत रूपमा पनि यसका निम्ति सबैसँग आह्वान गर्न चाहन्छु ।

० मुठभेड चाहने त माओवादी नै होइन र ?

माओवादीले किन मुठभेड चाहने ? मुठभेड चाहने भए माओवादी बाह्रबुँदे समझदारी, शान्ति-सम्झैता हुँदै यहाँसम्म किन आउँथ्यो ? यो संविधानसभा त माओवादीको एजेन्डा हो । संविधानसभाबाट निर्वाचित सबैभन्दा ठूलो शक्ति माओवादी हो । संविधानसभालाई सफल पार्नु, संविधानसभामार्फत जनमुखी र स्वाधीन संविधान निर्माण गर्नु यो त माओवादीको हितमा छ । हिजो जो संविधानसभाबाट पराजित भए, ती शक्ति पो संविधानसभालाई विघटन गरेर प्रतिगमनतिर जाँदा आफ्नो हित सुरक्षित हुन्छ भन्ने देख्छन् । यतिवेलाको मुख्य मुद्दा भनेको संविधानसभाबाट नयाँ संविधान बनाउने कि नबनाउने ? देश अहिले दुईवटा ध्रुवमा ध्रुवीकृत हुँदै गइराखेको छ । चरम दक्षिणपन्थीहरू संविधानसभालाई विघटन गरेर देशलाई फेरि पुरानै दिशामा फर्काउने प्रयत्नमा छन् । यसलाई हामीले ठीक ढंगबाट समाधान गर्न सकेनौँ भने अर्को वामकोणबाट पनि देश भिडन्ततिर जाने खतरा छ ।

० तपाइहरूले पनि त यो आन्दोलन छाडेर संविधान बनाउनतिर लागे हुँदैन ?

राष्ट्रपतिको कदमपछि सरकारमा आएका शक्तिहरूको उद्देश्य भनेकै संविधान नबनाउने हो । राष्ट्रपतिको कदम सच्चिएन भने संविधान मान्नुपर्दैन भन्ने नजीर स्थापित हुन्छ र त्यही नजीरमा टेकेर भोलि राष्ट्रपतिले अर्काे कदम चाल्छन् । राष्ट्रपतिलाई मुखौटोको रूपमा अघि सारेर सेनाले शासन हातमा लिने सम्भावना हामीले देखिराखेका छौँ । हामीले आन्दोलन रोक्यौँ भने त्यसलाई झन् बल पो पुग्छ । अहिलेको आन्दोलन छाडियो भने राष्ट्रपतिको कदमले बैधता पाउँछ, त्यसलगत्तै संविधानसभा विघटन हुन्छ र देश प्रतिगमनतिर र्फकने बाटो सुनिश्चित हुन्छ । हाम्रो आन्दोलन शान्ति र संविधान निर्माणको बाधक होइन, साधक हो । जबसम्म राष्ट्रपतिको कदम सच्चिँदैन, तबसम्म प्रतिगमनको खतरा रोकिँदैन ।

० संविधानसभा विघटन होस् र संविधान नबनोस् भन्नेहरूलाई तपाइहरूको आन्दोलनले सहायता पुगिराखेको देखिन्छ नि ?

उनीहरू त प्रतिगमनतिर गइसकेकै छन् । सेना सरकारको माहतहतमा हुनुपर्छ भनेर हामीले आवाज उठाउँदा कसैले सुनेन, अहिले मैना सुनुवार केसमा सेनाले सरकारको आदेश मानिरहेको छैन । नागरिक सर्बोच्चताको मुद्दालाई यसले पुष्टि गरेको छ । हामीले उठाएको मुद्दा सबै लोकतन्त्रवादीको साझा मुद्दा हो । यसैले यसलाई सबैले साथ दिनुपर्छ भन्ने हामीलाई लाग्छ ।

० तपाइहरूले गणराज्य घोषणा गरेपछि यसले संविधानसभाको औचित्यलाई समाप्त गर्‍यो भन्ने आरोप छ नि ?

संविधानसभालाई विघटन गर्न चाहनेहरू र संघीयतालाई लागू गर्न नचाहनेहरूका विरुद्ध खबरदारी गर्न र जनता परिचालन गर्न मात्रै हामीले सांकेतिक रूपमा त्यो कार्यक्रम राखेका हौँ । त्यसमा भएको लाखौं जनताको सहभागिताले जनता संघीयताको पक्षमा छन् भन्ने देखाएको छ । यो जनमत सिर्जना गर्ने हाम्रो लक्ष्य थियो, त्यो पूरा भयो । योभन्दा बढी प्रचार गर्नु सही होइन ।

० अब भिडन्त भयो भने कसले जित्ला ? के माओवादीले जित्ने निश्चित छ ?

माओवादी भनेको त एउटा विचार हो, आन्दोलन हो । यो जनताबाट स्थापित शक्ति हो । त्यसैले जनताले, राष्ट्रले नै हार्छ भन्ने त हामीलाई लाग्दैन । तर, तत्कालीन अवस्थामा देश फेरि युद्धतिर गयो भने अब हुने युद्ध अलि बढी विनासकारी हुने र लम्बिएर जाने खतरा म देख्छु । जसरी अफगानिस्तानमा ३०औँ वर्षदेखि अन्त्यहीन प्रकारको युद्ध चलिराखेको छ, नेपाल पनि त्यही प्रकारको द्वन्द्वतिर जाने खतरा मैले देखिराखेको छु ।

० त्यसोभए अब द्वन्द्व भएमा नेपाल इन्डोनेसियाभन्दा पनि अफगानिस्तान बन्ने खतरा छ ?

मैले त्यस्तो देखिराखेको छु । नेपाली जनता यति सचेत भइसके कि दमनै भइहालेछ भने पनि हामी केही नेता मारियौँला, तर नेपाली जनताले प्रतिरोध गर्छन् । नेपाली जनता सहेर बस्नेवाला छैनन् । जनताले जतिवेलासम्म जित्दैनन्, त्यतिवेलासम्म संघर्ष जारी रहन्छ र धेरै लामो प्रकारको युद्ध हुन्छ भन्ने मलाई लाग्छ ।

० सरकारले शान्तिप्रक्रिया भंग गर्न चाहेको आरोप तपाईंहरूको छ । तर, तपाइहरूले आफैँ जनवादी क्रान्तितिर जानका लागि यो निहुँ झिकिरहेको हो कि होइन ?

यो हास्यास्पद कुरा हो । माओवादी संविधानसभाबाट निर्वाचित सबभन्दा ठूलो र बैध शक्ति हो । यो शक्तिले यो प्रक्रिया किन तोड्ने । यो बाटो त हामीले निर्माण गरेको हो । यो हामी किन छाड्ने ? बरु जबर्जस्ती हामीलाई यहाँबाट धकेलेर बाहिर पठाउने जुन प्रयत्न गरिँदै छ, त्यो पो गम्भीर कुरा हो । जितेको शक्तिचाहिँ भाग्ने अनि हारेको शक्तिले चाहिँ संविधानसभा बचाउने ? यस्तो हास्यास्पद कुतर्क पनि गर्न मिल्छ ? शान्ति र संविधानसभाप्रति माओवादी प्रतिबद्ध छ । कठपुतली सरकारमा बस्नेहरू संविधानसभाका विरोधी हुन् । हामी अन्तिमसम्म शान्ति र संविधानका पक्षमा लड्छौँ । हामी संविधानसभाबाटै, बैधानिक र शान्तिपूर्ण बाटोबाटै संविधान लेख्ने पक्षमा छौँ, यसैका निम्ति हामीले आन्दोलन गरिरहेका हौँ ।

० अलिकति फरक प्रसंगमा कुरा गरौँ, प्रधानमन्त्री माधव नेपालले कोपहेगनमा भारतका प्रधानमन्त्रीलाई भेटेको, प्रधानसेनापतिले भारतको भ्रमण गरेको र इन्डियाले नेपाललाई सैन्यदेखि लिएर जस्तोसुकै सहयोग गर्ने वचन दिएको सुनिन्छ, यसलाई माओवादीले कसरी लिएको छ ?

- उहाँहरूले के-कति कुरा गर्नुभयो, के समझदारी भयो, त्यो हामीलाई पूरै थाहा भइसकेको छैन, तर यतिवेला शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगुन्जेल सैनिक सहायता दिने वा लिने भन्नेचाहिँ शान्ति-सम्झौताविपरीत कुरा हो, यदि त्यो सही हो भने हामी त्यसको विरोध गर्छौं ।

० पछिल्लो समयमा भारत र माओवादीको सम्बन्ध नराम्रोसित बिगि्रयो भन्छन् नि ?

सप्रेको र बिग्रेको भन्दा पनि हामी हाम्रो राष्ट्रिय हितमा विश्वका सबै देशसँग, मुख्यतः छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ । तर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर कसैसँग झुक्न र आत्मसमर्पण गर्न हामी चाहन्नौँ ।

० भारत सरकारसित तपाइहरूको आग्रह के हो ?

भारतका सत्ताधारीहरूसित हाम्रा आग्रह के हो भने नेपालको वस्तुस्थिति र धरातलीय यथार्थ बुझ्ने प्रयास गर्नुपर्‍यो । नेपाली जनता शान्ति अग्रगमन र प्रगति चाहन्छन् । यसका निम्ति माओवादीले अगाडि सारेको एजेन्डाका पछाडि जनता गोलबन्द छन् । यो यथार्थलाई बिर्सिएर जनताबाट पराजित र तिरस्कृत शक्तिहरूको आड लिएर भारतले नेपालमा आˆनो स्वार्थको रक्षा हुन्छ भन्ने ठानेको छ भने त्यो भ्रममा नपर्दा हुन्छ । हिजो राजतन्त्रलाई साथ दिँदा जुन गति भयो, अहिले फेरि जनताबाट तिरस्कृत शक्तिहरूलाई साथ दिने हो भने भारतको बचेखुचेको साख पनि नेपालबाट सिद्धिन्छ ।

० भारतमा बढ्दै गएको माओवादी आन्दोलनसँगै नेपालका माओवादीलाई पनि उसले जोडेर हेर्ने गरेको छ नि ?

वर्ग विभाजित संसारमा आफ्नो ढंगका वर्गसंघर्ष चलिराखेका छन्, ती आ-आफ्नै देशका आन्तरिक मामिलाका कुरा हुन् । भारतको आन्दोलनसित कसरी व्यवहार गर्ने भन्ने त्यो उनीहरूको आन्तरिक मामिलाको कुरा हो । हामी नेपालमा आन्दोलन गरिराखेका छौँ, यसलाई अन्यत्र कहीँ जोड्नु उपयुक्त हुँदैन ।

० भारतले ठूलो पार्टीलाई सपोर्ट नगरेर कमजोर शक्तिलाई समर्थन गर्नुहुँदैन भन्न खोज्नुभा'को हो ?

हामीले बुझेअनुसार नेपालमा परिवर्तनसहितको शान्ति स्थापना हुनु समग्र यो क्षेत्रकै निम्ति राम्रो कुरा हो । त्यसैले देशमा जसले शान्ति, अग्रगमन र परिवर्तनलाई सुनिश्चित गर्न सक्छ, त्यही राजनीतिक शक्तिलाई साथ दिनु विश्वका सबै शक्तिकेन्द्रको आ-आˆनो हितमा हुन्छ भन्ने हामीलाई लाग्छ । तर, यसको विपरीत भारतको सत्तापक्षले शान्ति र परिवर्तनका पक्षधरलाई भन्दा अशान्ति र प्रतिगमनका पक्षधर शक्तिलाई आड दिने जुन प्रयत्न गरिराखेको छ, यो उसैको हितको विपरीत छ ।

प्रस्तुतीः अरुण बराल

(जनआस्था साप्ताहिकको बर्ष १५, अंक ३९ मा प्रकाशित)

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 5 )
 
Kp  [From: Australia] Says:
 
 
I read your interview I agree on all but How could you justify any kind of Bandha is happier to less advantage people ? Don't you think this is against human rights ?
 

 
Nepali Keto  [From: ] Says:
 
 
Why do we need another war? To give oppurtunity to Prachanda and his family members to visit USA and Europe with the money collected in the name of poor people. Shame on you guys.
 

 
YAGYA RAJ CHAMLAGAIN  [From: MORANG HOKLABARI-1] Says:
 
 
THANK YOU COMRADE BABURAM.NEXT STEP PLEASE PROVIDE THE BASIC ARMY OR CARATE TRAINING FOR EVERY VILLAGE COMMITEE.AFTER MAOISTS WILL BE INCREASING AS SOON AS POSSIBLE.
 

 
YAGYA RAJ CHAMLAGAIN  [From: MORANG HOKLABARI-1] Says:
 
 
VERY GOOD QUESTION AND ANSWER.MEANS THIS INTERVIEW IS VERY GOOD.I HOPE SAME TYPE OF INFORMATION WILL BE MENTIONED IN THE FUTURE.THANK YOU
 

 
Dilli ram poudel  [From: nawalparasi, now qatar] Says:
 
 
Baburam Bhattarai ko interview padhda ta uhaharu janatako lagi dherai ladnubhayeko jasto lagyo...? Janata bikas Chahan6n, Agragaman chahan6n bhanne kura uhalenai bhannu bhayo tara neta haru kurshi chahanchhan bhanna birsanu bhayoni. Desh Afaganistan banna sakne khatara dekhnu bhayo tara tesbat jogauna Aandolan lai rokera bikash ko batoma jana kina Saknu hunna. bigat 12 barse yuddha le nepal lai world ko sabaibhanda garib desh banai sakeko 6 bhane ajhai kata laijane bichar 6 ?????
 
अन्य अन्तर्वार्ता
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।