। हामी जनयुद्ध लडेर आएको हुनाले व्यक्तिगत रूपमा हाम्रो कसैसित पनि प्रतिशोधको भावना छैन । डिएसपी घाइते भएको जुन कुरा छ, दोहोरो हानाहानमा हाम्रा सभासद् यशोदा सुवेदी, भीमप्रसाद गौतमहरू पनि घाइते हुनुभएको छ । डिएसपी पनि घाइते भए, यो दुखद् कुरा हो ।
० उनीमाथि नियोजित आक्रमण गरिएको हो रे त ?
त्यो हुनै सक्दैन । हामीले सुनेअनुसार त प्रहरीले हानेको अश्रुग्यासको सेलले पहिले उनलाई लागेको हो र त्यसपछि ढलिसकेपछि दोहोरो ढुंगा हानाहानमा उनी घाइते भएका हुन् ।
० तपाईंहरू आन्दोलन शान्तिपूर्ण गर्छौँ भन्दै हुनुहुन्थ्यो, तर बानेश्वरको झडप एक्कासि कसरी भयो ?
- हाम्रो सात महिनाअघिदेखिको आन्दोलन हेर्नुभयो भने पनि पुष्टि हुन्छ । अहिलेको तीन दिनको हडताल पनि शान्तिपूर्ण नै सम्पन्न गर्ने हाम्रो योजना थियो र आमरूपमा शान्तिपूर्णरूपमै सम्पन्न भयो । तर, बानेश्वरजस्ता एकाध ठाउँमा सरकारले उत्तेजित पार्ने काम गर्यो । यसबाट अहिलेको 'कठपुतली' सरकारले यो आन्दोलनलाई अर्कै मोड दिने र यो प्रतिक्रान्तिलाई जायज ठहर्याउने बाहना खोजिरहेको हो कि बन्ने हामीलाई लागेको छ ।
० उन्नाइसदिने जनआन्दोलनमा पनि प्रहरीले लाठीचार्ज र दमन गर्दथ्यो, तर त्यसवेला प्रदर्शनकारीसित घाइते हुनु वा भाग्नुको कुनै विकल्प थिएन । तर, माओवादी कार्यकर्ता त प्रहरीले जस्तै लाठी बोकेरै निस्किए नि ? तपाइहरूको शान्तिपूर्ण आन्दोलन पहिलेको जनआन्दोलनभन्दा अलि फरक ढंगको हो ?
- होइन, अहिले पनि हामी शान्तिपूर्ण नै छौँ ।
० तर, लठ्ठी नि ?
त्यो त सामान्य रूपमा मान्छेले प्रदर्शन गर्ने क्रममा बोक्नुबाहेक आक्रमणका लागि बोकेको होइन । सबै ठाउँमा लाठी लिएर निस्किएका पनि थिएनन्, एकाध ठाउँमा मान्छेहरू त्यसरी हिँडे होलान्, त्यो सामान्य प्रचलन हो । एकाध ठाउँमा एकाध मान्छेले बोकेको लठ्ठीलाई त्यसरी आमरूपमा प्रचार गर्नु सही होइन ।
० सरकारमा हुँदा त तपाईंहरू नै बन्द र हडतालको विरोध गर्नुहुन्थ्यो, अहिले किन आफैँले बन्द गराउनुभा'को ?
युद्ध संघर्ष र बन्द-हडताल भनेको जायज र नाजायज दुई किसिमका हुन्छन् । जायज कुराका लागि वा न्यायपूर्ण कुराका लागि तपाइले युद्ध, संघर्ष, विद्रोह वा बन्द-हडताल गर्नुहुन्छ भने त्यो सही हुन्छ, तर अन्यायपूर्ण कुराका निम्ति तपाईं त्यसो गर्नुहुन्छ भने त्यो गलत हुन्छ । बन्द-हडताल भन्ने कुरा केका निम्ति तपाईं गर्दै हुनुहुन्छ ? देश र जनताको निम्ति, अग्रगमनको निम्ति, लोकतन्त्रको निम्ति, शान्तिको निम्ति गर्नुहुन्छ भने त्यो जायज हुन्छ । यसलाई निरपेक्ष ढंगबाट हेर्न मिल्दैन ।
० न्यायपूर्ण भनिए पनि जनतालाई त बन्द-हडतालले कष्ट पुग्छ नि ?
मुक्तिकामी शोषित उत्पीडित जनताको जीवन त त्यसै पनि कष्टकर छ । भूमिहीन, खान नपाएर सडकमा लडिराखेकाहरूलाई अहिले कहाँ छ भन्नोस् त ? हामीले गरेको आन्दोलनले भोलि उनीहरूको सुखद जीवनको ढोका पो खुल्छ त । त्यसैले यस्तो आन्दोलन उत्पीडितहरूका लागि सुखद छ भने खाइपाई आएकाहरूका लागि मात्रै कष्टकर छ ।
० तीनदिने हडताल त गर्नुभो, तर यसबाट पनि सरकारले तपाइहरूको मागलाई सम्बोधन गरेन भनेपछि अब के गर्नुहुन्छ ?
इतिहासमा अक्सर निरंकुश शासक, प्रतिगमनकारी जनताको आवाजबाट सजिलै ढल्दैनन् र अन्त्यसम्म बल प्रयोग गरेर कुर्सीमा टाँसिने प्रयत्न गर्छन् । तीसवर्षे पञ्चायतकाल पनि हामीलाई थाहा छ, त्यसपछिको ज्ञानेन्द्रको शासन पनि हामीलाई थाहा छ । र, त्यसैको उत्तराधिकारीका रूपमा अहिलेका शासकहरूले पनि व्यवहार गरिराखेका छन् । तर अन्ततः यिनीहरूलाई पनि निर्णायक आन्दोलनमा उत्रिएर नै बढार्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ ।
० 'निर्णायक आन्दोलन' भन्नाले शान्तिपूर्ण नै हो कि अर्को युद्धमा जानुपर्ने पनि हुन सक्छ भन्न खोज्नुभएको हो ?
हामी विल्कुल शान्तिपूर्ण ढंगले अगाडि बढ्न चाहन्छौँ । लाखौँ-करोडौं जनताको जनसागर उल्टिसकेपछि संसारको कुनै पनि ताकतले थेग्न सक्छ भन्ने हामीलाई लाग्दैन ।
० तपाईंहरूले गर्ने अबको आन्दोलन कस्तो होला ? अझै लामो हडताल पो गर्दै हुनुहुन्छ कि ?
संघर्षको रूप त अवस्थाअनुसार हामीले सोच्ने कुरा हुन्छ । तर, अहिले जुन नागरिक सर्बोच्चताजस्तो अहं मुद्दा उठाएर हामीले आन्दोलन गरिराखेका छौँ, यसलाई सम्बोधन गर्नुको सट्टा सरकार जुन दमनमा उत्रिएको छ, र कुनै पनि हालतमा कुर्सीमा टाँसिने धृष्टता गरिरहेको छ, यस्तै रबैया रह्यो भने जनता अझै व्यापक ढंगले आन्दोलनमा उत्रनुको विकल्प रहँदैन ।
० सरकार कडा रूपमा प्रस्तुत हुने रे नि त अब ?
उनीहरू कडारूपमा प्रस्तुत भएकै त छन् । निहत्था सुकुम्बासीमाथि डुडेझारीमा गोली चलाएर ६ जनाको हत्या गर्नु, पचासौँ जनालाई घाइते बनाउनु के यो सहज प्रस्तुति हो ? यो सरकारमा बस्ने मान्छे, खासगरी अहिलेका गृहमन्त्री र केही मन्त्री असाध्यै मण्डले र फासिस्ट ढंगले प्रस्तुत भइराखेका छन् । यो हेर्दाखेरि यिनीहरू देशमा द्वन्द्व चर्काउने र देशलाई फेरि युद्धतिर लैजाने दिशामा उद्यत्त छन् भन्ने हामीलाई लागेको छ ।
० शीर्ष नेतावीच भेटघाट भइराखेको छ । दलहरूबीच वार्ता पनि भइराखेको छ, तर किन सहमति हुन सकिरहेको छैन ? हलो केमा अड्किएको छ ?
राष्ट्रपतिको कदमको जगमै यो सरकार बनेको हो । यो सरकार त्यसैमा टाँसिइरहन चाहन्छ । अहिले अड्केको गाँठी कुरै यहीँनेर हो । राष्ट्रपतिको कदम ठीक कि बेठीक भन्ने नै अहिलेको मुख्य मुद्दा हो । र, यो फिर्ता नलिएसम्म नागरिक सर्वोच्चता बहाल हुँदैन भन्ने हाम्रो अडान हो ।
० साझा संकल्प-प्रस्तावका बारेमा पनि पटक-पटक छलफल भएर ड्रा
ट पनि बनिसकेको होइन र ?
हामीले त हाम्रो संकल्प प्रस्तावमा छलफल गर्न देऊ भन्यौँ, उनीहरूले दिएनन् । साझा प्रस्ताव बनाऔँ न त भन्यौँ, त्यसमा पनि उनीहरूले राष्ट्रपतिको कदमको 'र' पनि उच्चारण हुन सक्दैन भन्ने अडान लिइराखेका छन् । यसले गर्दा साझा प्रस्ताव पनि आउन सकेन । राष्ट्रपति आफैँले वक्तव्य दिएर यसलाई सच्याऊन् भनेर हामीले आग्रह गर्यौँ, यो पनि हुन सक्दैन भनेर उनीहरूले अडान लिइराखेका छन् । यसको अर्थ के हो भने उनीहरू कुनै पनि निकास चाहँदैनन् । हलो अड्काएर गोरु चुट्ने भनेजस्तो यसलाई निहुँ बनाएर असहज परिस्थिति सिर्जना गर्ने, संविधानसभा विघटन गर्ने र देशलाई फेरि सैनिक शासनतिर लैजाने मुख्य अभ्यास अहिले भइराखेको छ । र, यसैका विरुद्ध हाम्रो आन्दोलन केन्दि्रत छ ।
० शीर्ष नेताहरूको पछिल्लो भेटघाटले सहमतिलाई नजिक ल्याउने सम्भावनालाई कत्तिको देखाएको छ ?
कुनै सम्भावना देखापरिराखेको छैन । भेटघाट त राजनीतिमा भइराख्छ, युद्धको वेलामा पनि यस्तो भेटघाट र वार्ता हुने गर्थ्यो । तर, राजनीतिक निकास निस्कने ढंगले अहिले कुनै सार्थक कुरा भएको छैन । र, तत्काल त्यस्तो सम्भावना पनि हामीले देखिराखेका छैनौँ ।
० प्रतिशतमा भन्दा अब मुलुकमा सहमतिको सम्भावना कति छ ?
सहमतिबाटै निकास खोज्नु नै अहिलेको देशको आवश्यकता हो । यसैका निम्ति सात महिनासम्म हामीले अति संयमित ढंगले वार्ता र सहमतिका कुरा गर्दै आयौँ । तर, सरकारमा बस्ने मान्छे अत्यन्तै गैरजिम्मेवार ढंगले प्रस्तुत भइराखेका छन् । उनीहरूको यो रबैया हेर्दा सहजै निकास निस्कन्छजस्तो हामीलाई लाग्दैन ।
० प्रधानमन्त्री माधव नेपालले त कोपनहेगन जानुपूर्व र र्फकेपछि पनि सहमतिबाटै अघि बढौँ भनिराखेको सुनिन्छ । किन सहमति हुन सक्दैन ?
यो सरकार अन्तैबाट परिचालित छ र त्यताको आदेश नआएसम्म यसले सिन्को पनि भाँच्न सक्दैन भनेर त हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । कठपुतली भन्ने शब्द हामीले त्यसै रहरले भनेकै होइनौँ । राष्ट्रपतिको कदम देशलाई प्रतिगमनतर्फ लैजाने उद्देश्यका साथ चालिएको कदम हो । जुन गाडी उल्टो दिशातिर दौडिराखेको छ, त्यो गाडीमा बसेर त्यसलाई अर्को दिशातिर लैजान्छु भन्नुको कुनै अर्थ छैन । हिम्मत छ भने त्यो गाडीबाट ओर्लने आँट माधव नेपालले अहिल्यै गर्नुपर्यो । अर्काले प्रतिगमनतर्फ चलाएको गाडीमा बसेर म अग्रगमनतिर जाँदै छु भन्ने गफ हाँक्नुको कुनै तुक छैन ।
० सरकार त तपाईंहरूसित गल्ने पक्षमै देखिँदैन । बरु तपाइहरूलाई श्रीलंकाको लिट्टे बनाउने वा इन्डोनेसियामा जस्तो दमन गर्ने योजना पनि बन्न सक्छ भन्ने सुनिन्छ । यस्तो भएमा तपाइहरूको स्थिति के होला ?
- कसैले चाहेर यस्तो हुने थियो भने त जनयुद्धकालमा हामीलाई सबै सिध्याउन खोजिएकै थियो । त्यतिवेला त राजासमेत यिनीहरूका साथमा थिए, अहिले त राजा छैनन् । यिनीहरूले तिनै पराजित शक्ति र वैदेशिक शक्तिको आडमा त्यस्तो दुस्वप्न देख्छन् भने लिट्टे हामी होइन, उनीहरू हुन्छन् ।
० विदेशी सेनासित मिलेर इन्डोनेसियामा जस्तो गरियो भने ?
त्यस्तो मूर्खता नगरून् भनेर हामी चेतावनी दिन चाहन्छौँ । अहिलेको विश्व १९६० को विश्व होइन, एक्काइसौँ शताब्दीको विश्व हो । अहिले त्यसरी करोडौँ जनताको कत्लेआम गरेर इन्डोनेसिया बनाउने परिस्थिति विद्यमान छैन । फेरि, हामी माओवादी भनेको नयाँ ढंगको एक्काइसौँ शताब्दीको माक्र्सवादको अभ्यास गर्ने बहुत सिर्जनशील र नयाँ ढंगका माक्र्सवादी हौँ । त्यसैले हामी जनतामा आधारित भएर प्रतिरोध गर्छौं र हामीलाई त्यो ढंगले परास्त गर्न सम्भव देख्दैनौँ ।
० यतिवेला तपाइहरू अप्ठ्यारोमा हुनुहुन्छ, बलियो अन्तर्राष्ट्रिय समर्थनचाहिँ सत्तापक्षमै छ, होइन र ? माओवादी एक्लिँदै गएको छ भनेर तपाईंहरूका विपक्षी निकै उत्साहित देखिन्छन् नि ?
प्रतिक्रियावादीलाई अन्तर्राष्ट्रिय समर्थन हुन्छ नि त । हिजो राजालाई पनि अन्तर्राष्ट्रिय समर्थन थियो । तीसवर्षे पञ्चायतलाई पनि अन्तर्राष्ट्रिय समर्थन थियो । पछिल्लो कालमा ज्ञानेन्द्रलाई पनि अन्तर्राष्ट्रिय समर्थन नभएको भए उनले दुस्साहस गर्दैन थिए । तर, जनताको सागर उल्टेर आइसकेपछि अन्तर्राष्ट्रिय शक्तिले पनि आफ्नो स्वार्थलाई केन्द्रमा राखेर त्यो समर्थन फिर्ता लिन्छन् । अहिले तत्काल त माओवादीको विरोधमा त्यस्तो देखिन सक्छ, तर जनताबाट पराजित र तिरस्कृत भएका शक्तिलाई साथ दिँदाखेरि के गति हुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले पनि बुझ्न आवश्यक छ । र उनीहरूले छिट्टै बुझ्छन् भन्ने हामीलाई लाग्छ ।
० अब तत्काल नेताहरूबीच वार्ता हुन्छ कि हुँदैन ?
हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने चाहन्छौँ । तर, एक हातले मात्रै ताली बज्दैन । अर्को पक्ष जसरी शान्तिप्रक्रियालाई भंग गर्न र संविधानसभालाई निष्त्रिmय पार्दै लगेर भंग गर्न उद्यत्त छ, त्यो पक्षचाहिँ वार्ताबाट समाधान खोज्नुभन्दा पनि कुनै राजनीतिक निकास नखोजेर देशलाई द्वन्द्वतिर लैजान प्रयत्नशील छ ।
० उसोभए अब मुलुक एकपटक फेरि मुठभेडतर्फ जानै लागेको हो त ?
आजका मितिसम्मको परिदृश्यलाई हेर्दाखेरि देश भयंकर मुठभेडको दिशातिर गइराखेको छ । यसलाई रोक्न चाहने हो भने हामी सबै देश र जनतालाई माया गर्ने शक्तिहरूले गम्भीर प्रयत्न गर्नुपर्छ । र, हाम्रो पार्टी र म व्यक्तिगत रूपमा पनि यसका निम्ति सबैसँग आह्वान गर्न चाहन्छु ।
० मुठभेड चाहने त माओवादी नै होइन र ?
माओवादीले किन मुठभेड चाहने ? मुठभेड चाहने भए माओवादी बाह्रबुँदे समझदारी, शान्ति-सम्झैता हुँदै यहाँसम्म किन आउँथ्यो ? यो संविधानसभा त माओवादीको एजेन्डा हो । संविधानसभाबाट निर्वाचित सबैभन्दा ठूलो शक्ति माओवादी हो । संविधानसभालाई सफल पार्नु, संविधानसभामार्फत जनमुखी र स्वाधीन संविधान निर्माण गर्नु यो त माओवादीको हितमा छ । हिजो जो संविधानसभाबाट पराजित भए, ती शक्ति पो संविधानसभालाई विघटन गरेर प्रतिगमनतिर जाँदा आफ्नो हित सुरक्षित हुन्छ भन्ने देख्छन् । यतिवेलाको मुख्य मुद्दा भनेको संविधानसभाबाट नयाँ संविधान बनाउने कि नबनाउने ? देश अहिले दुईवटा ध्रुवमा ध्रुवीकृत हुँदै गइराखेको छ । चरम दक्षिणपन्थीहरू संविधानसभालाई विघटन गरेर देशलाई फेरि पुरानै दिशामा फर्काउने प्रयत्नमा छन् । यसलाई हामीले ठीक ढंगबाट समाधान गर्न सकेनौँ भने अर्को वामकोणबाट पनि देश भिडन्ततिर जाने खतरा छ ।
० तपाइहरूले पनि त यो आन्दोलन छाडेर संविधान बनाउनतिर लागे हुँदैन ?
राष्ट्रपतिको कदमपछि सरकारमा आएका शक्तिहरूको उद्देश्य भनेकै संविधान नबनाउने हो । राष्ट्रपतिको कदम सच्चिएन भने संविधान मान्नुपर्दैन भन्ने नजीर स्थापित हुन्छ र त्यही नजीरमा टेकेर भोलि राष्ट्रपतिले अर्काे कदम चाल्छन् । राष्ट्रपतिलाई मुखौटोको रूपमा अघि सारेर सेनाले शासन हातमा लिने सम्भावना हामीले देखिराखेका छौँ । हामीले आन्दोलन रोक्यौँ भने त्यसलाई झन् बल पो पुग्छ । अहिलेको आन्दोलन छाडियो भने राष्ट्रपतिको कदमले बैधता पाउँछ, त्यसलगत्तै संविधानसभा विघटन हुन्छ र देश प्रतिगमनतिर र्फकने बाटो सुनिश्चित हुन्छ । हाम्रो आन्दोलन शान्ति र संविधान निर्माणको बाधक होइन, साधक हो । जबसम्म राष्ट्रपतिको कदम सच्चिँदैन, तबसम्म प्रतिगमनको खतरा रोकिँदैन ।
० संविधानसभा विघटन होस् र संविधान नबनोस् भन्नेहरूलाई तपाइहरूको आन्दोलनले सहायता पुगिराखेको देखिन्छ नि ?
उनीहरू त प्रतिगमनतिर गइसकेकै छन् । सेना सरकारको माहतहतमा हुनुपर्छ भनेर हामीले आवाज उठाउँदा कसैले सुनेन, अहिले मैना सुनुवार केसमा सेनाले सरकारको आदेश मानिरहेको छैन । नागरिक सर्बोच्चताको मुद्दालाई यसले पुष्टि गरेको छ । हामीले उठाएको मुद्दा सबै लोकतन्त्रवादीको साझा मुद्दा हो । यसैले यसलाई सबैले साथ दिनुपर्छ भन्ने हामीलाई लाग्छ ।
० तपाइहरूले गणराज्य घोषणा गरेपछि यसले संविधानसभाको औचित्यलाई समाप्त गर्यो भन्ने आरोप छ नि ?
संविधानसभालाई विघटन गर्न चाहनेहरू र संघीयतालाई लागू गर्न नचाहनेहरूका विरुद्ध खबरदारी गर्न र जनता परिचालन गर्न मात्रै हामीले सांकेतिक रूपमा त्यो कार्यक्रम राखेका हौँ । त्यसमा भएको लाखौं जनताको सहभागिताले जनता संघीयताको पक्षमा छन् भन्ने देखाएको छ । यो जनमत सिर्जना गर्ने हाम्रो लक्ष्य थियो, त्यो पूरा भयो । योभन्दा बढी प्रचार गर्नु सही होइन ।
० अब भिडन्त भयो भने कसले जित्ला ? के माओवादीले जित्ने निश्चित छ ?
माओवादी भनेको त एउटा विचार हो, आन्दोलन हो । यो जनताबाट स्थापित शक्ति हो । त्यसैले जनताले, राष्ट्रले नै हार्छ भन्ने त हामीलाई लाग्दैन । तर, तत्कालीन अवस्थामा देश फेरि युद्धतिर गयो भने अब हुने युद्ध अलि बढी विनासकारी हुने र लम्बिएर जाने खतरा म देख्छु । जसरी अफगानिस्तानमा ३०औँ वर्षदेखि अन्त्यहीन प्रकारको युद्ध चलिराखेको छ, नेपाल पनि त्यही प्रकारको द्वन्द्वतिर जाने खतरा मैले देखिराखेको छु ।
० त्यसोभए अब द्वन्द्व भएमा नेपाल इन्डोनेसियाभन्दा पनि अफगानिस्तान बन्ने खतरा छ ?
मैले त्यस्तो देखिराखेको छु । नेपाली जनता यति सचेत भइसके कि दमनै भइहालेछ भने पनि हामी केही नेता मारियौँला, तर नेपाली जनताले प्रतिरोध गर्छन् । नेपाली जनता सहेर बस्नेवाला छैनन् । जनताले जतिवेलासम्म जित्दैनन्, त्यतिवेलासम्म संघर्ष जारी रहन्छ र धेरै लामो प्रकारको युद्ध हुन्छ भन्ने मलाई लाग्छ ।
० सरकारले शान्तिप्रक्रिया भंग गर्न चाहेको आरोप तपाईंहरूको छ । तर, तपाइहरूले आफैँ जनवादी क्रान्तितिर जानका लागि यो निहुँ झिकिरहेको हो कि होइन ?
यो हास्यास्पद कुरा हो । माओवादी संविधानसभाबाट निर्वाचित सबभन्दा ठूलो र बैध शक्ति हो । यो शक्तिले यो प्रक्रिया किन तोड्ने । यो बाटो त हामीले निर्माण गरेको हो । यो हामी किन छाड्ने ? बरु जबर्जस्ती हामीलाई यहाँबाट धकेलेर बाहिर पठाउने जुन प्रयत्न गरिँदै छ, त्यो पो गम्भीर कुरा हो । जितेको शक्तिचाहिँ भाग्ने अनि हारेको शक्तिले चाहिँ संविधानसभा बचाउने ? यस्तो हास्यास्पद कुतर्क पनि गर्न मिल्छ ? शान्ति र संविधानसभाप्रति माओवादी प्रतिबद्ध छ । कठपुतली सरकारमा बस्नेहरू संविधानसभाका विरोधी हुन् । हामी अन्तिमसम्म शान्ति र संविधानका पक्षमा लड्छौँ । हामी संविधानसभाबाटै, बैधानिक र शान्तिपूर्ण बाटोबाटै संविधान लेख्ने पक्षमा छौँ, यसैका निम्ति हामीले आन्दोलन गरिरहेका हौँ ।
० अलिकति फरक प्रसंगमा कुरा गरौँ, प्रधानमन्त्री माधव नेपालले कोपहेगनमा भारतका प्रधानमन्त्रीलाई भेटेको, प्रधानसेनापतिले भारतको भ्रमण गरेको र इन्डियाले नेपाललाई सैन्यदेखि लिएर जस्तोसुकै सहयोग गर्ने वचन दिएको सुनिन्छ, यसलाई माओवादीले कसरी लिएको छ ?
- उहाँहरूले के-कति कुरा गर्नुभयो, के समझदारी भयो, त्यो हामीलाई पूरै थाहा भइसकेको छैन, तर यतिवेला शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगुन्जेल सैनिक सहायता दिने वा लिने भन्नेचाहिँ शान्ति-सम्झौताविपरीत कुरा हो, यदि त्यो सही हो भने हामी त्यसको विरोध गर्छौं ।
० पछिल्लो समयमा भारत र माओवादीको सम्बन्ध नराम्रोसित बिगि्रयो भन्छन् नि ?
सप्रेको र बिग्रेको भन्दा पनि हामी हाम्रो राष्ट्रिय हितमा विश्वका सबै देशसँग, मुख्यतः छिमेकीहरूसँग राम्रो सम्बन्ध राख्न चाहन्छौँ । तर, राष्ट्रिय हितलाई तिलाञ्जली दिएर कसैसँग झुक्न र आत्मसमर्पण गर्न हामी चाहन्नौँ ।
० भारत सरकारसित तपाइहरूको आग्रह के हो ?
भारतका सत्ताधारीहरूसित हाम्रा आग्रह के हो भने नेपालको वस्तुस्थिति र धरातलीय यथार्थ बुझ्ने प्रयास गर्नुपर्यो । नेपाली जनता शान्ति अग्रगमन र प्रगति चाहन्छन् । यसका निम्ति माओवादीले अगाडि सारेको एजेन्डाका पछाडि जनता गोलबन्द छन् । यो यथार्थलाई बिर्सिएर जनताबाट पराजित र तिरस्कृत शक्तिहरूको आड लिएर भारतले नेपालमा आ