रुपन्देही, १७ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अखण्ड नेपालभित्रै स्वायत्त मधेश प्रदेश बनाउनुपर्छ । ‘स्वायत्त प्रदेशहरु, अलग–अलग पहिचान र अधिकार स्थापित गर्दा अखण्ड नेपाल र नेपालको एकता कायम गर्ने कुरालाई हामीले बिर्सन हुँदैन । तपाई–हाम्रो साझा थलो भनेको नेपाल हो । नेपालभित्र नै पहाड र मधेश हो । त्यसैले त्यो एकतावद्ध नेपाल निर्माण गर्नको निम्ति स्वायत्त अधिकारसम्पन्न मधेश प्रदेश बनोस् त्यसको पक्षमा म साथ दिन्छु’, पहाड र मधेशबीच भावनात्मक एकताका लागि पुल बन्ने प्रयत्नस्वरुप तराई–मधेश, थारुवान क्षेत्रको भ्रमणमा रहनुभएका भट्टराईले रुपन्देहीको धकधईमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो – ‘मधेश आन्दोलनलाई पहाडी आर्य–खस अहंकारवाद र मधेशी पृथकतावाद दुबै अतिवादबाट जोगाउनुपर्छ ।’
महाभारतको भीष्मको उदाहरण दिँदै उहाँले संविधानसभामार्फत संविधान बनाउने आफ्नै प्रतिज्ञाका कारणले सबैको अधिकार नसमेटिएको बुझ्दा बुझ्दै पनि संविधानमा हस्ताक्षर गरेको बताउनुभयो । नीतिशास्त्रमा बुद्धिमानीले सबै गुम्न लाग्यो भने आधा जोगाएर, आधा गुमाउनुपर्ने उल्लेख भएको भन्दै उहाँले आफूले पनि सबै उपलब्धी गुम्ने खतरा रहेको स्थितिमा आधा जोगाउनका लागि संविधानमा हस्ताक्षर गरेर अब बाँकी उपलब्धीका लागि संघर्षमा ऐक्यवद्धता जनाउन मधेश आएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘जनताको पूर्ण मुक्तिको निम्ति जबसम्म यो देशमा बस्ने पहाडी मूलका आर्य–खस मात्रै होइन, पहाडमै बस्ने मंगोल मूलका आदिवासी जनजाति, तराई–मधेशमा बस्ने मधेशी, थारु, सबैको जबसम्म पूर्ण मुक्ति हुँदैन, पूर्ण अधिकार प्राप्त हुँदैन, त्यतिबेलासम्म सच्चा समुन्नत लोकतान्त्रिक अग्रगामी नेपाल बन्दैन । यही बुझाइका साथ मैले यो आन्दोलन अझै पूरा भएको छैन, यसमा ऐक्यवद्धता व्यक्त गर्नुपर्छ, जनतालाई सबल बनाउनुपर्छ भन्ने सोचेर म पार्टी परित्याग गरेर तपाईंहरुको साथमा उपस्थित भएको छु ।’ उहाँले आफूले मधेशी, थारुको अधिकार प्राप्तिको आन्दोलनलाई कहिल्यै पनि धोका नदिने प्रतिवद्धता पनि जनाउनुभयो ।
आफूले परित्याग गरेको पार्टीलाई उहाँले भूकम्पबाट क्षतविक्षत भइ ‘रातो स्टिकर टाँसिएको घर’को संज्ञा दिनुभयो । भावनात्मक रुपमा पुरानो घरमै बस्न मन लागे पनि मर्मत गर्नै नमिल्ने, ‘स्ट्रक्चर’ नै विग्रेको घरमा आफूले ‘रातो स्टिकर’ टाँसेर हिँडेको बताउनुभयो । अब त्यो घरमा बस्न नमिले पनि त्यस घरका काम लाग्ने काठपात लगायतका सामग्रीरुपी नेता कार्यकर्ताहरु मिलेर नयाँ घर बनाउनुपर्ने पनि बताउनुभयो ।
देशभित्रका सबै जाति, भाषा, क्षेत्र, समुदायलाई समेटर आन्तरिक एकता बलियो पार्ने, आर्थिक रुपमा सम्पन्न हुने प्रगतिशील राष्ट्रवादको पक्षमा आफू भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।