ललितपुर, २५ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न क्षेत्रका युवाहरुसँग अन्तरक्रिया गर्नुभएको छ । दायित्व फाउण्डेसनको आयोजनामा ललितपुरमा भएको अन्तरक्रियामा कर्मचारीतन्त्र, उद्योग–व्यवसाय, राजनीतिक, नागरिक समाज, पत्रकारिता लगायतका विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा डा. बाबुराम भट्टराईसँग राजनीतिक जीवनको अनुभव, नेपालको राजनीतिक क्षेत्रको समस्या/चुनौति, अबको बाटो लगायतका विषयमा युवाहरुले चासो व्यक्त गर्नुका साथै आफ्ना अनुभव र सुझाव समेत दिएका थिए ।
अन्तरक्रियाका क्रममा डा. भट्टराईले संविधान निर्माणपश्चात पूँजीवादी राजनीतिक क्रान्ति सम्पन्न भएको र अबको बाटो आर्थिक विकास र समृद्धिको भएको बताउनुभयो । अहिलेको नेपालको प्रधान अन्तरविरोध अघि बढेको राजनीतिक अवस्था र पछि परेको आर्थिक अवस्थाको बीचको अन्तरविरोध नै भएको उहाँले बताउनुभयो । यही प्रधान अन्तरविरोधलाई हल गर्ने गरी नै अबको नीति तथा कार्यक्रम बन्नुपर्ने उहाँको भनाई थियो ।
आर्थिक रुपमा समृद्ध नभइकन राजनीतिक रुपमा स्थापित अधिकारहरु जतिसुकै राम्रा भए पनि कार्यान्वयन गर्न अप्ठेरो हुने उहाँको भनाई थियो । त्यसका लागि अबको बाटो भनेको पछि परेको आर्थिक अवस्थामा सुधार ल्याउने हुनुपर्ने र केही दशक दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
अब आर्थिक विकास र समृद्धिलाई नै मूल लक्ष्य बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । आफूले सबै क्षेत्रसँग अन्तरक्रिया/छलफल गरेर नै निर्णय गर्नका लागि नै पार्टी परित्याग गरेर छलफलमा जुटेको उहाँले बताउनुभयो । साथै उहाँले अबको बाटोको बहसमा सहभागी हुनका लागि पनि सबैसँग आग्रह गर्नुभयो ।