काठमाडौं, १० असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष प्रचण्डबीच आज विहान टेलिफोन कुराकानी भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई भट्टराई आफैंले टेलिफोन गर्नुभएको थियो ।
विहान ७:१५ बजे भएको टेलिफोन कुराकानीका क्रममा भट्टराईले अहिलेसम्मको सहयोगको निम्ति एमाओवादी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिनुभएको थियो । अब आफूले देशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलबाट निर्णय लिने तथा तराई र पहाडको दूरी कम गर्दै जोड्ने पहल गर्ने पनि भट्टराईले प्रचण्डलाई बताउनुभयो । साथै वैचारिक बहसलाई व्यक्तिगत रुपमा नलिन पनि भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।
टेलिफोन कुराकानीका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना लागि भट्टराईको पार्टी परित्याग आश्चर्यको विषय भएको बताउनुभएको थियो । भट्टराईले प्रचण्डलाई तरंगित नभइ अघि बढ्न आग्रह गर्नुभएको थियो ।