जनकपुर, १२ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । जनकपुरधामको यात्री निवासमा हजारौं युवाहरुलाई भट्टराईले सम्बोधन गर्नुभयो । सम्बोधनका क्रममा उहाँले मधेशले अब सिंगो नेपालको नेतृत्व गर्ने गरी आँट गर्नुपर्ने बताउनुभएको छ । ‘मधेशमा २ महिनादेखि जनजीवन अस्तव्यस्त छ त्यसमा काठमाडौंका शासकले ध्यान दिएका छैनन् । तर काठमाडौंलगायत अन्य क्षेत्रका पहाडी जनताको पनि मधेशी जनताको आन्दोलनमा समर्थन रहेको बताउन म यहाँ आएको हुँ’, उहाँले भन्नुभयो ।
अब पहाड र तराई–मधेशका जनता मिलेर नेपाललाई एकीकृत, शान्त र समृद्ध बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै आफू मधेश–तराई र पहाडलाई जोड्ने गरी सहजकर्ता बन्न नागरिकको रुपमा मधेशमा आएको पनि उहाँले बताउनुभयो ।
मन्तव्यको अन्त्यमा भट्टराईले ‘जय नेपाल’, ‘जय मधेश’ नारा लगाउनुभएको थियो र उहाँसँगै हजारौं युवाहरुले पनि ‘जय नेपाल’, ‘जय मधेश’ भन्दै नारा लगाएका थिए । भट्टराई जनकपुर पुग्दा कता–कतै सामान्य विरोध पनि भएको थियो । आफ्नो विरोध गर्नेलाई पनि डा. भट्टराईले धन्यवाद दिनुभयो ।