नयाँ शक्ति निर्माण अभियानमा हिडेका डा. बाबुराम भट्टराईको एकीकृत माओवादी त्यागको पुस १९ गते १०० दिन पुगेको छ । ०७२ असोज ९ मा भट्टराईले एमाओवादी र सांसदपद त्याग गरेका थिए । आफ्ना सहकर्मीलाई छाडेर नयाँ राजनीति धार निर्माण अभियानमा लागेका भट्टराईले १०० दिनमा कस्तो अनुभूति गरे ? राजनीतिक–वैचारिक भन्दा पनि एमाओवादी त्यागको १०० भावनात्मक रुपमा कस्तो रह्यो ? नेत्र पन्थीले भट्टराईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको अंश :
------------------------------------------------------------------------------
जीवनको उत्तरार्धमा ०७२ असोज ९ गते मैले नयाँ यात्राको सुरुवात गरेँ । ४० बर्षसम्मको मेरो राजनीतिक यात्रा पुरानो सामन्ती राजतन्त्रात्मक युगको अन्त्य गरेर नेपाललाई संघीय गणतान्त्रिक लोकतान्त्रिक युगमा प्रवेश गराउनमा केन्द्रित रह्यो । ०३३/३४ सालमा मैले आफ्नै पहलमा यो यात्रा सुरु गरेको थिएँ । त्यतिबेला राजतन्त्र र पञ्चायती निरंकुशताको ‘गाउँ फर्के अधिनायकत्व’ चरम उत्कर्षमा थियो । त्यसको अन्त्य गरेर नेपाललाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउन सके जीवन सार्थक हुन्थ्यो, त्योबिना नेपाल अत्यन्त पिछडिएको अवस्थाबाट मुक्त हुन सक्दैन भन्ने सोचका साथ म अगाडि बढेको थिएँ ।
पूरा भयो एउटा यात्रा
अहिले फर्केर हेर्दा त्यतिबेला मेरो चेतना र्याडिकल डेमेक्रेटिक अर्थात क्रान्तिकारी लोकतान्त्रिक, गणतान्त्रिक नै थियो । त्यसैलाई कार्यान्वायन गर्ने क्रममा म बिपी कोइरालादेखि मनमोहन अधिकारीसम्म, पुष्पलालदेखि मोहनविक्रमसम्म सहकार्य, कुराकानी र अन्तरक्रिया गर्दै अगाडि बढेँ । साथै अन्य धारका ऋषिकेश शाहजस्ता व्यक्तित्वहरूसँग पनि सहकार्य गरेँ । अन्त्यमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी चिन्तन पद्धति नै दुनियाँलाई बुझ्ने र बदल्ने सुसंगत प्रणाली हो भन्ने सोचका साथ कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेँ । अन्ततः सामन्तवाद र राजतन्त्रविरोधी सबै शक्ति मिलेर नै परिवर्तन ल्याउनुपर्छ भन्ने मेरो सोच थियो ।
विभिन्न उतारचढाव भएर १० बर्षे जनयुद्धपछि १२ बुँदे समझदारी, वृहत् शान्ति सम्झौता भयो । त्यसको परिणामस्वरूप असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्यौँ । त्योचाहिँ मेरो जीवनको आफैँले स्वेच्छिक ढंगले सुरु गरेको ४० बर्षको यात्रा थियो, त्यो पूर्ण भएको अनुभूत गरेँ ।
नयाँ यात्राको सोच
त्यसपछि सोच्न थालेँ– अब जीवनको अंश कुन रूपले प्रयोग गर्नु बढी उपयुक्त होला ? म सामाजिक व्यक्तित्व बनिसकेको थिएँ । त्यसैले देश समाजको निम्ति, मानव जातिको निम्ति पछिल्लो समय के गर्न उपयुक्त होला भनेर केही समय अघिदेखि नै अन्तरमनमा कुरा खेलाउँदै थिएँ । अब नेपालमा पूँजीवादी लोकतन्त्र त प्राप्त भयो । लोकतन्त्र भनेको त एउटा राजनीतिक प्रणाली र विधिमात्रै हो ।
अन्ततः चाहिएको समाजको आर्थिक विकास, समृद्धि र समाजमा रहेका विभिन्न वर्ग तह तप्काको सुख नै हो । त्यसैले निष्कर्ष निकालेँ– अब शायद बाँकी जीवन नेपालको विकास र समृद्धिकै निम्ति समर्पित गर्नु उपयुक्त हुन्छ । यो ऐतिहासिक आवश्यकता हो । यो पूरा गर्न जीवन समर्पण गरियो भने आफ्नो जीवन पनि सुखदायी हुन्छ भन्ने सोचका साथै मैले पुरानो यात्रा समापन गर्ने निर्णय गरेँ । अब नयाँ बाटो निर्माण गर्नेतिर लाग्नुपर्छ भन्ने सोचका साथ स्वतन्त्र विवेक प्रयोग गरेर नै असोज ९ गते नयाँ यात्रामा प्रवेश गरेँ ।
विकास र समृद्धिको सपना
नयाँ यात्रा भनेको आर्थिक विकास र समृद्धि प्राप्तिको निम्ति नयाँ सोच, नयाँ ढाँचा र नयाँ शैली र नयाँ आचरणसहितको नयाँ शक्तिको निर्माण हो । नयाँ यात्रामा अगाडि बढ्दा पुरानो यात्राको अन्तिम स्टेसनसम्म हिँडेका सहयात्रीहरूमध्ये केहीको साथ स्वतः पाइन्छ । सबैको साथ पाइन्छ भन्ने निश्चित हुँदैन । नयाँ सहयात्री खोज्दै हिँड्नुपर्ने हुन्छ । यात्रा सुरु गरेको सय दिन भयो । यो सय दिनलाई फर्केर हेर्दा नितान्त नयाँ र सुखद अनुभूति गरिरहेको छु ।
आफ्नै स्वविवेकले ४० बर्षपहिले जो यात्रा सुरु गरेको थिएँ, नेपाललाई कमसेकम लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउन पाए हुन्थ्यो भन्ने सपना, त्यो पूरा हुँदा अत्यन्त सन्तोषको अनुभूति छ एकातिर । जतिबेला पञ्चायती कालरात्री उत्कर्षमा थियो, त्यतिबेला गणतन्त्रको कल्पना गर्नु अत्यन्त अस्वाभाविक र असम्भवजस्तो लाग्थ्यो । त्यो आखिर सम्भव भयो । अर्कातिर, आर्थिक विकास र समृद्धिको जुन नयाँ सपना मैले आफ्नो दिमागमा खेलाएको छु । त्यो प्राप्त गर्न सकिएला वा नसकिएला भन्ने मान्छेहरूमा जिज्ञासा छ । अमूर्त रूपमा सबैले विकास र समृद्धि त भन्छन् तर त्यो त्यो अमूर्त प्रकारको विकास र समृद्धि नभएर नेपाली समाजको आवश्यकता हो । नेपाली राजनीतिको केन्द्रविन्दु पनि त्यही नै बन्नुपर्छ भन्ने दृढ विश्वासको साथ मैले यात्रा सुरु गरेको छु । अमूर्त सपना नभएर हाम्रै जीवनकालमा प्राप्त हुन सक्ने विकास र समृद्धिको कुरा मैले गरिरहेको छु ।
अब म १०/१५ बर्षजति क्रियाशील हुनसक्छु । यो समय वस्तुसंगत ढंगले योजनावद्ध प्रयोग गर्न सकियो भने नेपालका जुन आर्थिक विकासका समस्या छन्, त्यसलाई समाधान गरेर नेपाललाई गरिबी र वेरोजगारीबाट मुक्त मध्यम स्तरीय विकासको चरणसम्म पुर्याउन सकिन्छ भन्ने मेरो सोच हो । यसलाई केन्द्रमा राखेर वैचारिक, राजनीतिक, सांगठनिक र अन्य निजी कुराहरूलाई व्यवस्थित गर्ने तथा सम्पूर्ण शक्ति विकास र समृद्धिको प्रतिफल प्राप्ति गर्न लगाउने सोच बनाएर म निस्किएको हुँ । स्वतः नै त्यसले नयाँ विचार, नयाँ सोच, नयाँ सम्बन्ध र नयाँ शक्तिको माग गर्छ । त्यसका लागि गत सय दिनमा मैले विभिन्न पक्षसँग कुराकानी, अन्तरक्रिया र भेटघाट गरेको छु । पश्चिममा धनगढीदेखि पूर्वमा विराटनगरसम्म, तराईदेखि हिमालसम्म यात्रा गरेको छु । यो बीचमा हजारौं मानिससँग भेटघाट र अन्तरसंवाद गरेको छु । यसले मलाई नयाँ अनुभूति दिएको छ ।
सिमित घेराबाट फराकिलो संसारमा
कम्युनिष्ट आन्दोलनको पछिल्लो चरणमा मैले काम गर्दा जुन उदात्त ध्येयका साथ अघि बढेँ, त्यहाँ अत्यन्त ठूलो असंगति, विकृति र विसंगति देखेँ । चिन्तनमा अत्यन्त यान्त्रिकता, संकीर्णता र जडता पाएँ । जसले गर्दा मानवजातिले आर्जन गरेको यति ठूलो ज्ञान र विज्ञानको भण्डारबाट आफूलाई अलग गरेर सिमित घेराभित्र रमाएर बस्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा देखा पर्यो । विकासको निम्ति त्यो सबभन्दा घातक रह्यो भन्ने मेरो अनुभूति छ । त्यसो त मैले कम्युनिष्ट आन्दोलनमा, खासगरी पछिल्लो चरणमा माओवादी आन्दोलनमा रहँदाखेरि पनि यो बिषयमा निरन्तर कुरा उठाइराखेँ । ज्ञान र विज्ञानको निरन्तर विकास भइराख्छ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद अर्थात माक्र्सवाद भनेको दुनियाँलाई बुझ्ने र बदल्ने दर्शन हो । यो कुनै धर्मग्रन्थ र अकाट्य सूत्रजस्तो होइन । यो त दुनियाँलाई बुझ्ने र बदल्ने बिधि हो । यसको निरन्तर प्रयोग र विकास गर्दै जानुपर्छ भन्ने कुरामा मैले जोड पनि दिएँ । तर यस्ता कुरा बेलाबखतमा स्वीकारीए पनि व्यवहारतः पुरानो स्कुलि¬ङमा आएका साथीहरू हुनुहुन्छ, खासगरी उच्च नेतृत्वपंक्तिका साथीहरू, उहाँहरूमा अत्यन्त यान्त्रिकता र संकीर्णता देखा पर्यो । त्यसले गर्दा जुन ढंगले विचारको विकास गर्नुपथ्र्यो, त्यति विकास गर्न सकेनौँ । र, हामीले जुन खालको स्कुलि¬ङ आम जनता र कार्यकर्तामा गर्यौँ, त्यो पनि अत्यन्तै यान्त्रिक र संकीर्ण प्रकृतिको भयो । त्यसैले कार्यकर्ताको आलोचनात्मक चेत विकास हुन सकेन । उनीहरू खाली आदेश पालकको रूपमा मात्रै अगाडि आए । कुनै पनि संकट आउँदा स्वविवेकले सोचेर अगाडि बढ्न नसक्ने अवस्था देखा पर्यो । त्यसले कम्युनिष्ट आन्दोलनको विकासमा ठूलो अवरोध सिर्जना गर्यो भन्ने मलाई लाग्छ । खासगरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कमरेड स्टालिनको पालापछि नै अत्यन्त ढोकाबन्दवादी प्रकारको शैली विचार, राजनीति र संगठनको क्षेत्रमा अन्त्यन्त संकीर्ण र यान्त्रिक ढंगले प्रयोग गरियो । त्यसैको निरन्तरता नेपाली कम्युनिष्ट आन्दोलनमा पनि रह्यो । ममा त्योभन्दा बाहिर निस्केर ज्ञान र विज्ञानका सबै आविस्कारलाई पचाएर अहिलेको युग सुहाउँदो विचारको विकास गर्नुपर्छ भन्ने जुन मान्यता थियो, यो सय दिनको बीचमा स्वतन्त्र ढंगले सोच्ने अवसर पाएँ ।
यसबीचमा फरक–फरक वैचारिक धारका मानिससँग भेटघाट गर्ने र आजकाल इन्टरनेटको दुनियाँमा उपलब्ध विभिन्न सामग्री तथा पुस्तकमध्ये केही अध्ययनको अवसर पाउँदा आफ्नो ज्ञानको दायरा निकै फराकिलो पार्ने दिशातिर उन्मुख भएको ठानेको छु । भलै अध्ययन गर्ने, चिन्तन गर्ने त्यति समय प्राप्त भएको छैन । तर पनि आफूलाई हिजो अत्यन्तै साँघुरो घेरामा मात्रै बाँधियो । बाँध्नु हुँदैन भनेर निरन्तर भनिरहेको थिएँ । तर कम्युनिष्ट पार्टीको ढाँचामा चाहिँ सानो पनि फरक कुरा आयो कि त्यसबारे सिर्जनशील ढंगले विचार विमर्श गरेर निष्कर्षमा पुग्नुभन्दा पनि एउटा बिल्ला लगाइदिएर दुत्कारिदिने र नकारात्मक रवैया अपनाउने प्रवृत्ति छ । त्यसले गर्दा हिजोको दायराभित्र रहेर नयाँ सोच विचार अगाडि सार्नु निकै कठिन थियो । अहिले त्यसअर्थमा आफूलाई स्वतन्त्र महसुस गरिरहेको छु ।
आशालाग्दो नयाँ पुस्तासँग
अहिले वैचारिक विकासको निम्ति नयाँ बाटो निर्माण भइरहेको देखेको छु । जसरी नयाँ मानिसहरूसँग सम्बन्ध विकास भइरहेको छ, खासगरी अहिलेको नयाँ युवापुस्तासँग । विदेशमा अध्ययन गरेर आएको र विभिन्न ढंगले नयाँ सोच बोकेर आएको जुन पुस्ता छ, त्यो अत्यन्त सचेत र सिर्जनशील पाएको छु । त्यसैले नयाँ विचार र नयाँ सोचसहितको नयाँ शक्ति निर्माण गर्नको निम्ति हिजोका खास पार्टीविशेषभित्रमात्रै रहेका मानिसहरूका सँगै बाहिर रहेका मानिसहरूसँग पनि भेटघाट, कुराकानी र अन्तरक्रिया गरिरहेको छु । यसो गर्दा आफ्नै सोचलाई पनि समृद्ध र फराकिलो बनाउने अवसर प्राप्त भएको महसुस भइरहेको छ ।
अझै पनि यो ज्ञान र विज्ञानको विकासको श्रृंखला त निरन्तर रहन्छ । यति ठूलो अथाह सागर छ, त्यो सागरभित्र अहिल्यै पसेर सबै ज्ञान प्राप्त गर्न र त्यसलाई पचाउन तत्काल सम्भव नहोला । तर पनि नयाँ बाटो बनेको छ । सबै विचार र सोचप्रति खुला रहने, सबैका सकारात्मक पक्षलाई ग्रहण गर्ने सोचले मेरो आफ्नै वैचारिक राजनीतिक विकासलाई मद्दत गर्ने विश्वास पैदा भएको छ । त्यसले देश र विश्वले नै जुन प्रकारको वैचारिक खँडेरीको सामना गरिराख्नुपरेको छ, त्यसमा पनि केही योगदान हुन सक्ने अनुभूत मैले गरेको छु ।
पुराना साथीको अभाव : भावनात्मकमात्रै
अहिले धेरै मानिसले जिज्ञासा राख्ने गर्नु हुन्छ– पुराना, लामो समयसम्म सहकार्य गरेका साथीहरू नहुँदा कस्तो अनुभूति हुन्छ ? मेरो पृष्ठभूमि अलिकति फरक छ । कम्युनिष्ट पार्टीमा, पछिल्लो चरणमा माओवादी पार्टीमा रहँदा पनि मेरा निजी सम्बन्ध पार्टीका दायराभन्दा बाहिर पनि निकै फराकिला हुने गर्थे । गैरकम्युनिष्ट क्षेत्रका मानिसहरूसँग पनि सम्बन्ध निरन्तर राख्थेँ । आन्दोलनपछि र विशेष गरी शान्ति प्रक्रियामा आइसकेपछि त्यसलाई नयाँ ढंगले जोड्ने अवसर प्राप्त गरेकै थिएँ । तैपनि पार्टीका आफ्ना जुन अनुशासनका सीमा हुन्थें, त्यसले ती सम्बन्धलाई मैले चाहेको रूपमा अघि बढाउन सम्भव हुँदैनथ्यो ।
अहिले म त्यो बन्धनमा छैन । नयाँ विचार, नयाँ सोच र नयाँ बाटो निर्माणको खोजीमा नै लागेको हुनाले सबैसँग भेटघाट र कुराकानी गर्ने अवसर प्राप्त गरेको छु । त्यसैले आफूलाई पुराना साथीहरू धेरै ठूलो अभाव महसुस गरेको छैन । भावनात्मक केही कुरा त हुन्छन् । धेरै लामो समय काम गरेका साथीहरू अहिले सँगै नहुँदा यदाकदा अभाव, कता–कता नमिलेको र अपूरोजस्तो अनुभूति नहुने त होइन । तर त्यो पक्ष प्रधान होइन । नयाँ नयाँ मानिसहरूसँगको सम्पर्क गर्दा, नयाँ विचारसँगको सम्बन्ध बढाउँदा, नयाँ सोचको विकासको निम्ति प्रयत्न गर्दा बढी नै आफ्नो क्षेत्र फराकिलो हुँदै गएको, सोच्ने तथा काम गर्ने शैली विकसित र विस्तारित हुँदै गएको अनुभूत गरेको छु । फेरि पनि यो प्रारम्भिक चरण हो । अहिले त विशाल समुद्रमा नयाँ विचार र सोचको खोजीमा नै छौं । विशाल प्रयोगशालामा लामो परीक्षणपछिमात्रै विचारको निर्माण हुन्छ र विस्तारै विचारको रूप लिन्छ । त्यसैले यसमा निरन्तर लाग्नुपर्छ नै ।
नयाँ विचारको बाटोमा
प्रारम्भिक रूपमै म आशावान् बनेको छु । विश्व एक्काइसौं शताब्दीको सुरूमा आइपुग्दा विचारको क्षेत्रमा उदारवाद र माक्र्सवाद अर्थात द्वन्द्वात्मक भौतिकवाद वा समाजवादबीचको प्रतिपष्र्धा छ । यी दुइटैको आ–आफ्ना सीमा र कमजोरी उजागर गएको अवस्था छ । दुवैले आफ्ना सीमा र कमजोरीबाट सिकेर अगाडि बढ्ने प्रयत्न नगर्ने हो भने पुरानै रूपमा न त उदारवाद अगाडि जान सक्छ न त हिजोको राज्यकेन्द्रित समाजवाद नै अगाडि जान सक्छ । त्यसैले वैचारिक रूपमा पनि राजनीतिक र प्रणालीगत विकासको आवश्यकताबोध भइरहेको छ । यस्तो अवस्थामा विभिन्न प्रणालीको तुलनात्मक अध्ययन गर्ने, त्यस बीचबाट नयाँ विचार र प्रणालीको खोजी गर्ने काममा आफूलाई लगाउन पाउँदा मलाई ठूलो सन्तोषको अनुभूति भइरहेको छ । तर पनि अपूर्णताचाहिँ महसुस हुन्छ । ज्ञान र विज्ञानको यति ठूलो भण्डार छ । एक, मान्छेको एउटा सीमा हुन्छ । अर्को, हामी अत्यन्तै पिछडिएको परिवेशमा छौं । त्यसले गर्दा पर्याप्त मात्रामा समय र शक्ति त्यतातिर लगाउन सकिँदैन । त्यसले आफ्नो ज्ञानको अपूर्णता रहेको बोधचाहिँ मलाई हुन्छ । फेरि पनि नयाँ युवा पुस्तासँगको सहकार्य र अन्तरक्रियाले चाहिँ धेरै कुरा सिक्ने सम्भावना देखिरहेको छु । त्यसैले अहिले पार्टीका पुराना मानिससँग भन्दा पनि नयाँ युवा पुस्तासँग सहकार्य गर्ने, अन्तरक्रिया गर्ने र उनीहरूबाट सिक्नेतिर उद्दत छु । यो सय दिनमा पुराना मान्छेसँग भन्दा पनि नयाँ मान्छेसँग विकास भएको सम्बन्ध र उनीहरूको कुुराले मलाई बढी अभिप्रेरित गरेको पाएको छु ।
यो महान अभियान हो । नयाँ शक्ति निर्माण भनेको नेपालभित्र थप पार्टी निर्माण गर्नेमात्रै होइन । अहिलेको जुन राजनीति छ, त्योभन्दा वैकल्पिक राजनीतिक धार निर्माण गर्ने र आर्थिक विकास तथा समृद्धिलाई छोटो अवधिभित्र कार्यारूप दिन सक्ने गरी नयाँ शक्ति निर्माण गर्ने हो । त्यसैले आगामी दिनमा मैले आफ्नो सम्बन्ध र सोचको दायरालाई अझै फराकिलो पार्दै लैजानुपर्छ । यसमा मेरो विश्वासको मात्रा बढ्दै पनि गएको छ ।
म देशको विभिन्न ठाउँमा पुगेँ । मान्छेले परिवर्तन खोजेका छन् । संविधानसभाबाट संविधान बनेपछि देश नयाँ युगमा प्रवेश गर्यो । अब पुरानै राजनीतिक शक्ति, पुरानै नेतृत्वबाटमात्रै यसलाई अगाडि लैजान सम्भव छैन । नयाँ सोचसहितको नयाँ शक्ति चाहिन्छ भन्ने आम बुझाइ भएको मैले पाएको छु । त्यस हिसाबले पनि मेरो आशा र विश्वासको मात्रा दिनहुँ बढ्दै गएको छ । चुनौतिहरू अवश्य नै छन् । तर चुनौतिको सामना गरेर नै नयाँ चिजको आविस्कार हुने र सफलताको शिखरमा पुग्ने कुरा हुन्छ । त्यसैले यो सय दिनका अनुभवका आधारमा टेकेर यो यात्रा अगाडि बढाउन सकिन्छ र सक्नुपर्छ भन्ने निष्कर्षमा म पुगेको छु ।
माओवादबाट अघि बढ्नुपर्छ
समाजमा विभिन्न विचार प्रवृत्ति र स्वार्थहरू टक्कराइरहेकै हुन्छन् । त्यसैले सबै बिषयमा सबैको सर्वसम्मति हुन्छ भन्ने कुरा होइन । विविध कोणबाट तर्क वितर्क हुन्छन् । त्योसँग जुध्दै एउटा सत्य स्थापित गरेर जानुपर्छ । मैले माओवादी आन्दोलनमा लागेर, खासगरी संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन जुन भूमिका निर्वाह गरेँ, त्यसलाई सबैले सकारात्मक ढंगले नै ग्रहण गरेको देखियो ।
अहिलेचाहिँ माओवादी सोच र पद्दति र प्रणालीबारे मेरो पछिल्लो सोच के हो ? पुरानो सोचभित्रै छ कि नयाँ सोचले आयो भन्नेचाहिँ केही मानिसहरूमा जिज्ञासा देखा परेको छ । मैले स्पष्टै भन्न खोजेको के हो भने विचार र दर्शन निरन्तर विकसित हुने कुरा हुन् । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी पद्दति अरू विचार श्रृंखलाको तुलनामा बढी वैज्ञानिक र वस्तुसंगत छ । त्यसैमा टेकेर नै यसलाई समृद्ध र विकसित गर्दै लैजानुपर्छ, जुन हिजो माओवादको रूपमा अभिव्यक्त भएको थियो । पुरानो संरचना भत्काउने हदसम्म, एउटा युद्ध संघर्ष सञ्चालन गर्ने विन्दुसम्म त्यो सोचाइ ठिक थियो । तर अहिले नयाँ समाज निर्माण गर्ने, आर्थिक विकास र समृद्धिको जग बसाल्ने चरण छ, त्यहाँ हिजोकै बुझाइको माओवादले मात्र पुग्दैन । अब त्योभन्दा अगाडि बढ्नुपर्छ भन्ने सोचअनुसार म अघि बढेको छु । यो कुरा बुझाउन र स्थापित गर्न केही मेहनत गर्नुपर्छ भन्ने लाग्छ ।
केही मानिसले मलाई पुरानै आँखाले हेरिरहेका छन् । हिजोको माओवादी नै छ यो भनेर आशंका गरिरहेका छन् । अर्काथरी, माओवादी र कम्युनिष्ट आन्दोलनका साथीहरूले चाहिँ द्वन्द्वात्मक भौतिकवाद अर्थात माक्र्सवादी प्रणालीलाई नै त्याग गरेको हो कि भनेर आशंका गरिरहेका छन् । दुवैतिर आशंका देख्छु, जसलाई जायज नै ठान्छु । तर मेरो बुझाइ स्पष्ट छ । कुनै विचारश्रृंखलालाई समातेर बस्ने या त्यसलाई पूरै छोड्ने होइन । नयाँको आविष्कार भनेको पुरानैको जगमा हुन्छ । जस्तै आइन्स्टाइनको जमानाअघि यान्त्रिक भौतिकी थियो, आइन्स्टाइनको पालामा रिलेटिभिटी फिजिक्स आयो । अझै अगाडि बढेर क्वान्टम फिजिक्सको दुनियाँमा छ अहिले । त्योभन्दा अझै अगाडि गएर सुक्ष्म आणविक दुनियाँ र स्थूल आणविक दुनियाँबीचको जुन अन्तर छ, त्यसलाई मिलाएर एउटै एकीकृत सिद्धान्त बनाउनुपर्छ भन्ने परीक्षण भइरहेको छ । समाज विज्ञानमा त झन् अघिल्ला विज्ञानका नियमहरूमा टेकेर नै नयाँ विज्ञान विकास गर्नुपर्ने हुन्छ । त्यसैले पुरानालाई पूरै छोड्ने या पुरानामा पूरै टाँसिएर बस्ने कहिल्यै पनि हुँदैन । त्यसैले मैले हिजोको आफ्नो राजनीतिक विरासत पूर्ण रुपले परित्याग गर्ने भन्ने पनि हुँदैन, त्यसलाई हुबहु समातेर हिँड्ने पनि हुँदैन । उपयोगी कुराहरूलाई ग्रहण गर्दै त्यसमा टेकेर नयाँ युगका निम्ति नयाँ विषय विकसित गर्ने र थप्दै लाने कुरा हुन्छ ।
हामी सामन्तवादी युगको अन्त्य गरेर पूँजीवादी युगमा प्रवेश गर्यौँ । त्यो भनेको गगनचुम्बी महलको पहिलो तल्ला लगाएजस्तै हो । हामी त्यसमा नयाँ भर्या¬ङ निर्माण गर्दै, नयाँ तला थप्दै जानुपर्छ । कतिपय मानिसले पुरानो तलालाई पूरै भत्काउने वा छोडिदिने हो कि होइन भन्ने प्रश्न गर्छन् । त्यो प्रश्न उपयुक्त लाग्दैन मलाई । विगतमा टेकेर नै आगतको यात्रामा अगाडि बढ्नुपर्छ । मचाहिँ यो बिषयमा प्रष्ट छु । सबैलाई प्रष्ट पार्न केही मेहनत गर्नुपर्छ ।
मूल बिषयमा बहस गरौं
यसबीचमा नयाँ शक्तिबारे हल्लैहल्लामा टिकाटिप्पणी पनि भएका छन् । हाम्रो संस्कार र संस्कृति अत्यन्त निम्नस्तरको पनि छ । तथ्यबाट सत्य खोज्नुभन्दा पनि हल्लैहल्लाको भरमा टिकाटिप्पणी गर्ने, अत्यन्त आग्रह पूर्वाग्रहपूर्ण ढंगले आफ्नो धारणा बनाउने प्रवृत्ति छ । त्यसले अलि जटिल त बनाउँछ नै । तर राजनीति गर्ने मानिसले यी सबै चिजलाई पचाएर जानुपर्छ । त्यो मलाई गत चालीस बर्षको राम्रै अनुभव छ । फेरि पनि तथ्यभन्दा बाहिर गएर अनेकन् दुस्प्रचार हुन्छन्, त्यसको खण्डनमा अनावश्यक समय र शक्तिको वरवाद हुन्छ । मुख्य बिषयमा केन्द्रित भएर बहसलाई अघि बढाउँदा राम्रो हुन्थ्यो, तर हाम्रो समाजको अत्यन्तै पिछडिएको संस्कृतिको जुन द्योतक हो, त्योचाहिँ अहिले पनि यदाकदा देखा पर्छ । त्यसलाई चिरेर सकारात्मक सोचसाथ यात्रामा अगाडि बढ्ने प्रयत्न मैले गरिरहेको छु ।
साभारः राताेपाटी डट कम
http://www.ratopati.com/photo-news/23050/